पाकिस्तानमा भूकम्प जाँदा १८ जनाको ज्यान गयोः १५० जना बढी घाइते
२१ असोज, रामेछाप । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ।
उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएको बिबिसीले जनाएको छ ।
भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरहरूमा देखिन्छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ।
गम्भीर घाइते
भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए। मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।
कम्तीमा १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई बताएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
बलोचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाह लङ्गुले प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको बीबीसीलाई बताएका छन्।