कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदानः १३२ पदको लागि यी हुन् उम्मेद्वराहरु,

| मंसिर २७, २०७८ सोमबार

फाइल
A A A
A A A

२७ मंसिर,काठमाडौं :  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ। विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ । केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन्। 

 

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका  निर्वाचन समितिले जनाएको छ।  शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ६१ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन्।

 

सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ)  सुरेन्द्रप्रसाद चौधरी र ५९ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिए।

को-को छन् पदाधिकारीका उम्मेदवार 

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी परेको छ।

 

यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी परेको छ। 

 

यस्तै  दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी छ।

 

एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ। 

 

आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ। खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन्।

 

मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ। मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ। 

 

थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ। थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुई जनामात्र प्रतिस्पर्धामा छन्। 

 

पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ।

 

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।  

 

यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो। शनिबार उम्मेदवारले मनोनयन दर्ता गराएका थिए।  आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो।