एनआईसी एसिया बैंकका कर्मचारीसंगै मिलेर १६ लाख चोरी गर्ने रामेछापका तीनसहित चार जना पक्राउ

| पुस २४, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

२४ पुष,रामेछाप । बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी गर्ने घटनामा संलगन रामेछापका तीन जना सहित चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा रामेछाप घर भएका २४ वर्षीय विमल तामाङ, राज पौडेल र अनिश खड्का छन् । उनीहरु हाल ललितपुर बस्दै आएका छन् । उनीहरुको स्थायी ठेगाना बारे अनुसन्धान जारी छ । 

 

अर्का पक्राउ पर्नेमा काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्री छन् ।  उनीहरुले बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको खुलाशा भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

 

खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार रुपैयाँ बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना प्रहरीलाई दिएका थिए ।


विशेष सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गर्दा खत्रीमाथि नै शङ्का लागेपछि पक्राउ परेका थिए । 

 

अनुसन्धानपछि मिलेमतोमा नगद चोरी गरी भागबण्डा गरेको फेला परेको हो । अहिलेसम्म १३ लाख ४६ हजार रुपैयाँ फेला परेको र दुई लाख ८२ हजार रुपैयाँ भने खर्च गरेको खुलेको छ ।