काठमाडौंबाट मालुखोला हिडेको जम्बो हायस, यात्रुसंग मन लाग्दी भाडा असूली, प्रहरी नियन्त्रणमा
१६ वैशाख, मन्थली । बन्दाबन्दीको मौका छोपी यात्रुसंग मनलाग्दी भाडा असूल्ने सवारीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले कारबाही गरेको छ ।
राजधानीबाट छिमेकी जिल्ला दोलखाको मालुखोला लागि आएको बा. २ ख ९३५३ नम्बरको जम्बो हायसले बुधबार यात्रुहरुसगँ बढी भाडा लिएको प्रहरीले जनाएको छ ।
बिहिबारदेखि काठमाडौं उपत्यकामा १५ दिनको लागि निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय अनुसार केही दिनदेखि गाउँ फर्केनेहरुको भिड् बढेको थियो । सोही बहानामा हायसले बढीभाडा असूलेको पाइएको छ ।
प्रहरीका अनुसार उक्त हायसले प्रचलित् भाडादर रु ५ सय हुनु पर्नेमा २ जनालाई रु ३ सयका दरले र अर्का २ जनालाई रू ४ सयका दरले भाडा असूलेको थियो । सवारीले ४ जनाबाट १ हजार ४ सय बढी भाडा असूलेको थियो ।
जिल्ला प्रहरीमा यात्रुसंग बढी भाडा असूलेको गुनासो आएकाले सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान् गर्दा बढी भाडा लिएको पुष्टि भएको र उक्त बढी लिएको भाडा फिर्ता गरिएको प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जम्बो हाएसलाई ट्राफिक नियम उल्लङ्घन् बमोजिम कार्बाही गरिएको छ ।