पार्टीका उम्मेद्वारलाई हराएको भन्दै एमाले मन्थली नगर कमिटीका सचिव कार्की पार्टी सदस्य समेत नरहने गरि सचिवबाट बर्खास्त

| जेठ १५, २०७९ आइतबार

राजु कार्की ।
A A A
A A A

१५ जेठ, रामेछाप । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीका उम्मेद्वारलाई हराएको भन्दै नेकपा एमाले मन्थली नगर कमिटीले सचिवलाई बर्खास्त गरेको छ । पार्टीको हित बिपरित हुने गरि मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा सचिव राजु कार्कीले एकिकृत समाजवादी पार्टीका वडा अध्यक्षका उम्मेद्वारलाई जिताउन सहयोग गरेको ठहर गर्दै सचिव पदबाट बर्खास्त गरेको हो । 


कार्की पछिल्लो अधिवेशनबाट नगर कमिटीमा निर्वाचित भएका थिए । उनले आफूले पार्टीबाट वडा अध्यक्षको टिकट नपाएपछि एसका उम्मेद्वारलाई सहयोग गरेको पार्टीले ठहर गरेको हो । एमालेले वडा नं ५ मा गणेश कार्कीलाई वडा अध्यक्षको टिकट् दिएको थियो । उनलाई पराजित गर्दै त्यहाँ एसका उम्मेद्वार रवीन कार्की नवीन ले चुनाव जितेका छन् । 

 


कार्कीले पार्टीका उम्मेद्वार गणेशलाई असहयोग गरेको भन्दै उनलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि कारबाहि गर्ने पार्टीका वडा कमिटी अध्यक्ष तेज बहादुर कार्की र उम्मेद्वार गणेश्ले पार्टीसंग माग गरेका थिए ।

 

सचिव कार्कीलाई एमालेमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमाले मन्थली नगर कमिटीले जिल्ला कमिटीलाई विधानत सिफारिस गरेको स्रोतले जनाएको छ । यसैबीच कार्कीलाई हामी घटना बारे बुझ्न खोज्दा सम्पर्क भएन ।