आफै बढ्दै गरेको कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने रामेछापका एकसहित ४ विद्यार्थी पक्राउ

| असार १, २०७९ बुधबार

A A A
A A A

१ असार, काठमाडौं । ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने रामेछापका एकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कालिकास्थान स्थित उक्त कलेजमा कार्यरत सेकुरेटी गार्डलाई सोही कलेजका विद्यार्थीले खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

 

गत मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । 

 

प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

 

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा अध्ययनतर कक्षा ११ का ४ जना विद्यार्थीहरुले गार्डमाथि खुकुरी प्रहार गरेको खुलेको हो । पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्दै आएका पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका गौरी खतिवडाका छोरा प्रतिक खतिवडा, म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ र काठमाडौं टोखा–६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जिव भण्डारी (अनमोल) रहेका छन् । 

 

उनीहरुले करिब १० दिन अगाडि कलेज परिसरमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर मंगलबार दिउँसो विद्यार्थीका दुई समूहबीच विवाद भएको थियो । सो विवादमा संलग्न विद्यार्थीहरुलाई छुट्याउने क्रममा गार्डमाथि नै आक्रमण भएको हो । 

 

प्रहरीका अनुसार गार्डलाई आक्रमण गरी भागेकाहरुलाई खोजतलास गरी नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

-तस्विर समाचार स्रोत नेपाल प्रहरी