सुनापति गाउँपालिकाले भन्यो ‘बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई दहासंस्कार बापत रकम उपलब्ध गर्छौं, क्षतीपूर्ती दिलाउन पहल’

दुर्घटनामा २४ जना गम्भीर घाइते, १३ को ज्यान गयो

| असार २२, २०७९ बुधबार

A A A
A A A

२२ असार, रामेछाप । १३ जनाको ज्यान जाने गरी भएको यात्रु बाहक बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सुनापति गाउँपालिकाले क्षतीपूर्ती उपलब्ध गराउने भएको छ । मंगलबार विहान पालिकाको वडा नं ३ खोट्पास्वाँराबाट काठमाडौंका लागि छुटेको अरनिको यातायात समितिको बा ३ ख ८३९६ नं को ३४ जना यात्रु सहितको बस दुर्घटना ग्रस्त भएपछि एक शोक पत्र जारी गर्दै पालिकाले ‘सम्बन्धित पक्षबाट मृतकको क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्नुका साथै गाउँपालिकाको तर्फबाट दाहसंस्कार खर्च बापत केही रकम प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं’ जारी पत्रमा भनिएको छ । 

 


दुर्घटना स्थलमा उद्दारको लागि पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहितको टोली खटिएको पालिकाले क्षतीपूर्तीको लागि पहल गर्ने भनेको हो । 

 

पालिकाको वडा नं ५ खनियापानी (लुभुबजार नजिक) मा मंगलबार बिहान करिब १० : ०० बजेतिर दुर्घटनामा परी १३ जनाको ज्यान गएको छ । ९ जना घटना सस्थलमा र उपचारको क्रममा ४ जनाको दःखद् ज्यान  गएको हो । 

 

घटनाले पालिका स्तब्ध बनेको उल्लेख गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि पालिकाले गरेको छ । दुर्घटनामा परेका २४ जना धुलिखेलसहित विभिन्न अस्पतालमा उपचारत छन् । 

 

बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।