किराना पसलमा गाँजा राख्ने खाँडादेवीका खत्री पक्राउ

| भदौ ३०, २०७९ बिहिबार

तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
A A A
A A A

३० भदौ, रामेछाप । बुबा भक्तबहादुर खत्रीको किराना पसलमा लागू औषध गाँजा लुकाइ राख्ने छोरा नबराज खत्री पक्राउ परेका छन् ।

 

गत बुधवार खाँडादेवी गाउँपालिका ३ आँपचौर बस्ने ४९ वर्षीय खत्रीको छोरा नबराज खत्री बुबाको किराना पसलमा अवैध गाँजा लुकाई राखेको अवस्थामा गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

सो पसलमा गाँजा लुकाइ राखेको प्रहरीले गोप्य रुपमा सूचना पाएको थियो । सूचना पाएपछि ईलाका प्रहरी कार्यालय खाँडादेवीबाट प्रहरी नीरिक्षक तेजप्रसाद कंडेलको नेतृत्वमा खटिएको टोलीले पसल खानतलासी गर्दा पसलको कुनामा प्लास्टिकको बोरामा लुकाई राखेको अवस्थामा गाँजा बरामद भएको सूचना अधिकारी राजु प्रसाद ढकालले बताए ।

 

उनका अनुसार अवैध रुपमा २ किलो गाँजा भेटिएको थियो । उक्त गाँजासहित छोरा नबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको सूचना अधिकारी ढकालले बताए ।

 

जि.प्र.का. रामेछाप अन्तर्गतका प्रहरीले पछिल्लो समय अवैध रुपमा गाँजा ओसारपसार हुन थालेको अवस्थालाई मध्यनजर गरेर कडाइका साथ चेकजाँच बढाएको ट्राफिक प्रहरी रामेछापले जनाएको छ ।