ठूला पार्टी भन्नेले आमसभा–भेला गरेर मतदाता धम्क्याउने काम गर्दै छन् – वाइबा (भिडिओसहित)

| कात्तिक २४, २०७९ बिहिबार

A A A
A A A

२४ कात्तिक, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापका अध्यक्ष एवं प्रदेश सभा ‘ख’ का प्रत्यक्ष तर्फका उम्मेदवार भरतसिं वाइबाले यस पटक रामेछापका मतदाताले मत परिवर्तन गर्ने बताएका छन् । मतदाताले आफूलाई भोट हाल्नेमा विश्वस्त रहेको उनको भनाई छ । 

 

 

रामेछाप टाइम्ससंग निर्वाचन बहसमा कुराकानी गर्दै प्रदेश सभा ‘ख’ का उम्मेदवार वाइबाले मतदाताले रामेछापको परिवर्तन चाहेकाले पहिले जिताएका दलबाट यो सम्भव नरहेकाले यस पटक राप्रपालाई जनताले भोट हाल्ने ठोकुवा गरे । उनले भने ‘यस पटकको मत फेरिन्छ । मैले मतदाताको मन बुझे । पहिले भोट दिएर पनि केही नगरेपछि अब नयाँ र काम गर्ने पार्टी जनताले खोजेका छन् त्यो राप्रपा हो । त्यो म हो  । मलाई भोट हाल्छन् ।’ 

 

उनले थपे ‘फेरी यो पटक ठूला पार्टीहरूको आमसभामा कार्यक्रम सञ्चालक आफै, वक्ता आफै, श्रोता आफै सबै आफै छन् । स्थानीयको उपस्थिति छैन । ५÷७ वटा गाडीमा सररर......जाने एक ठाउँ जम्मा हुने अनि कार्यक्रम गर्ने यस्तो अवस्था छ ।यो मतदाता भुलाउने काम हो ।’

 

राप्रपा रामेछापका अध्यक्ष समेत रहेका नेता वाइबाले गठबन्धन र अन्य दलले ठूला भेला र आमसभा गरेर जनतालाई डराउने काम गरेको आरोप लगाए । उनले भेला, आमसभा आचारसंहिता विपरीत रहेको भन्दै त्यो मतदातालाई धम्क्याउने काम गरेको दाबी गरे । 

 

 

अध्यक्ष वाइबाले आफूले वडामा ५ वर्ष बिताएकाले क्षेत्र नं २ (ख) को सबै जानकारी आफूसँग रहेको जिकिर गरे । उनले प्रचारप्रसारमा सबै मतदाताको घर घर पुगेको सुनाउँदै उनीहरूबाट यहाँको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा काम गर्न आफू नियुक्त हुने दाबी दोहोराए । 

 

 

उनले भ्रष्टाचार मुक्त देश निर्माण गर्ने र जनताको पार्टी भनेको राप्रपा नै भएको जिकिर गरे । 

 

फेस्बुक पेजमा भिडिओ हेर्नुहोस् ।