रामेछापमा निर्वाचनमा कर्मचारी व्यवस्थापन चुनौती पूर्ण बन्दै : ६ सय बढी शिक्षकले भने ‘मर्यादा मिलेन निर्वाचनमा खटिँदैनौँ’

| कात्तिक २५, २०७९ शुक्रबार

A A A
A A A

२५ कात्तिक, रामेछाप । मुख्य निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनमा खटिने कर्मचारीको मर्यादाक्रम नमिलाएको भन्दै शिक्षकहरूले निर्वाचनमा खटिन नसक्ने भन्दै ध्यानाकर्षण गराएका छन् । शिक्षकहरूको मानमर्दनलाई व्यवस्था गरी खटन–पटन गरेको भन्दै शिक्षकहरू निर्वाचनमा नखटिने समेत मनस्थितिमा पुगेका हुन् । 

 

 

बिहीबार शिक्षक महासंघ रामेछापसहित नेपाल शिक्षक सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष केशरबहादुर श्रेष्ठ, ए.अ.ने.शि.सङ्गठनका सोमप्रसाद भट्टराई, अ.ने.शि.सङ्गठनका अध्यक्ष पाण्डव सुवेदी, प्र.ने.रा.शि. सङ्गठनका विष्णुबहादुर श्रेष्ठ र विद्यालय कर्मचारी परिषद्का अध्यक्ष रमेश तामाङले संयुक्त ध्यानाकर्षण पत्र जारी गर्दै भनेका  छन्, ‘प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कर्मचारी व्यवस्थापन कार्यमा शिक्षकको मानमर्दन क्रमलाई बेवास्ता गरी मानमर्दन तथा अपमान समेत गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

 

शिक्षकको मर्यादाक्रमका विषयमा पटक–पटक निर्वाचन आयोगलाई ध्यानाकर्षण तथा ज्ञापन पत्र मार्फत जानकारी गराइएकोमा सोको समेत बेवास्ता गरी खटन÷पटन गरेको प्रति हाम्रो गम्भीर असहमति रहेको छ ।’

 

 

जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला निर्वाचन कार्यकाल र नेपाल पत्रकार महासंघ रामेछापलाई बुझाइएको पत्रमा कर्मचारी खटाउने सूचीमा शिक्षकको मर्यादा क्रमलाई ध्यानमा राखी परिमार्जन गर्नको लागि अनुरोध समेत गरिएको उल्लेख छ । परिमार्जन गर्न अनुरोध छ, अन्यथा शिक्षकहरू अपमानित भएर यस निर्वाचन कार्यमा सघाउन नसक्ने ब्यहोरा यसै ध्यानाकर्षण पत्रमार्फत जानकारी गराउँदछौँ पत्रमा भनिएको छ । 

 

 

शिक्षकहरूले पत्रकार सम्मेलन गर्दै सो विषयमा ध्यानाकर्षण गरेका छन् । 

पत्रकार सम्मेलन ।

 

मुख्य निर्वाचन कार्यालय रामेछापले छ सय जना भन्दा बढी अस्थायी तथा थाई शिक्षक, शिक्षिकाहरूलाई निर्वाचनमा खटाउने निर्णय स्वरूप निर्वाचनमा खटाएको छ । 

 

 

उनीहरूलाई आज शुक्रवार र भोलि शनिवार सम्बन्धित स्थानीय तहमा तालिम तथा प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय यस विषयमा जानकार रहेको भन्दै कर्मचारी व्यवस्थापन गर्ने काम भइरहेको जनाउँछ । 

 

सुब्बा तहका अस्थायी कर्मचारी मतदान अधिकृत भएको र निमावि थाई, द्वितीय र निमावि प्रथम शिक्षकहरू सहायक मतदान अधिकृतको रूपमा मात्रै खटिनु परेपछि शिक्षकहरू असन्तुष्ट भएका हुन् । 

 

 

शिक्षक विष्णु थापाले रामेछाप टाइम्ससंग भने ‘यो निर्णय हामीलाई स्वीकार्य छैन । कतिपय साथीहरू निर्वाचनमा नखटिने समेत निर्णयमा पुगेका छन् । हामीले गरेको आग्रहलाई अटेर गरी यस्तो खटनपटन स्वीकार्य हुँदैन ।’

 

यता मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्मा भने आफूहरूले कसैको मानमर्दन नगरेको बत्ताउँछिन् । कर्मचारी व्यवस्थापन भइरहेको सुनाउँदै आफूहरूलाई निर्वाचन निर्देशिका अनुसार काम गरेको बताइन् । यद्यपि यसबिषयमा छलफल गर्ने उनको भनाई छ । 

 

 

जिल्लामा ९६ मतदान स्थल र २२६ मतदान केन्द्रमा कूल १ हजार ८ सय १७ जना कर्मचारी परिचालित गरिएको छ । 

 

जसमा उमाकुण्डमा १७६, खाँडादेवीमा  २२४ गोकुलगंगामा १६०, दोरम्बा शैलुङ्मा २२४, मन्थली नगरपालिकामा ३७६, रामेछाप नगरपालिकामा २५६, लिखु तामाकोसी २०८, सुनापतिमा १८४ रहेका छन् ।

 

 

त्यस्तै अस्थायी मतदान केन्द्रमा ९, थप १८२ गरी कूल १९ सय ९९ जना परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

 

ध्यानाकर्षणपत्र हेर्नुहोस्