आज नयाँ वर्ष, २०७८ सालको पहिलो दिन
बैशाख ०१, काठमाडौं । आज विक्रम संवत् दुई हजार २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशैभरि एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।
कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
