मन्थली नगरपालिकाकी उपप्रमुख बस्नेत भन्छिन् ‘म आफैले बुनेको लुगा लगाउँछु, उपहार दिन्छु’

| मंसिर १८, २०७९ आइतबार

A A A
A A A

१८ मंसिर, रामेछाप । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले महिलाहरूले चाहेमा सबै थोक गर्न सक्ने बताएकी छन् । ‘मैले लगाएको यो 'स्वीटार' आफैले बुनेको हो । अर्को आधा बनाएकी छु । दिउँसो काम गर्छु राति निन्द्रा नलागुन्जेल बुन्ने गर्छु । मत्रो, गलबन्दी, बुनेकी छु । यस्ता धेरैलाई गिफ्ट दिएकी छु । म, बुन्छु । गीत गाउँछु, नाच्छु, गीत लेख्छु । हामीले चायौं भने सबै गर्न सकिन्छ । चाहनु पर्छ पूरा हुन्छ ।’

 

उनले सो विषय महिलाहरू हरेक काम गर्न सक्छन् भन्ने उदाहरणको रूपमा पेस गरेकी थिइन् । महिलाहरू उद्यमी र उत्पादनशील हुनु पर्नेमा उपप्रमुखको जोड् छ ।  ‘घरेलु तथा साना उद्योग महिलाहरूका लागि खानेपानी तथा सरसफाइ विषयक’ १ दिने अभिमुखीकरण कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै आइतबार उपप्रमुख बस्नेतले यस्तो बताएकी हुन् ।

 

 

उनले थपिन् ‘केही दिन अघि एक कार्यक्रममा मैले एकै छिनमा लेखेको गीत कर्मचारीले गाए । म, लेख्छु, गाउँछु, नाच्छु, बुन्छु हामीले चायौं भने, त्यो गर्न सकिन्छ । तर, इच्छ्या हुनु पर्छ । राति टिकटक, फेसबुक हेर्नु भन्दा बुनौँ, सिलाऔँ, उत्पादनशील बनौँ ।’

सहभागीहरु । 

 

उनले जिल्लामा उपाध्यक्षहरूबिच प्रतिस्पर्धा नाच्ने, गाउने, लेख्नेमा भए मन्थली नगरपालिकाले उपाधि जित्ने दाबी समेत गरिन् । 

 

 

विजयी बनेर लगाएको फूलको मालाले दिएको खुसी भन्दा जनताले आफूमाथि गरेको अपेक्षा पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने पिरले आफूलाई सधैँ सताउने गरेको उपप्रमुख बस्नेतले सुनाइन् । महिलाहरूले घरेलु उत्पादन बढाउन प्रमुख भूमिका हुने भन्दै सिप सकेका महिलाहरूले त्यसको उपयोग गर्न आग्रह गरिन् । 

 

 

त्यस्तै उपप्रमुख बस्नेतले तालिम धेरैले लिने तर, तालिम लिएर घरमा निष्क्रिय बनेर बस्ने परिपाटी रहेकाले त्यसको अन्त्य गर्न समेत सचेत गराइन् । नगरले पहिले धेरै तालिम दिएको थियो । तर, अहिले तालिम लिने कोही पनि सम्पर्कमा छैनन् । नगरले पनि गरेका तालिमहरूको अनुगमनमा कमजोरी गरेको जस्तो लागेको छ । अनुगमनको दस्ताबजेहरु भेटिएका छैनन् । अब अनुगमन कडाइ हुन्छ । म, गर्छु उपप्रमुख बस्नेतले जिकिर गर्दै भनिन् ।’

 

 

उनले आफू निर्वाचित भएर आएको ६ महिना बितेको भन्दै यो बिचमा पनि विभिन्न वडाहरूमा उद्यमी बनाउन तालिम सञ्चालन भएको जानकारी दिइन् । 

 

 

उपप्रमुख बस्नेतले मेरो कार्यकक्षमा महिलाहरू यस्तो गर्नु पर्‍यो भनेर योजना लिएर आए आफू त्यो सफल पार्नको लागि र सहकार्य गर्नको लागि सधैँ तयार रहेको प्रतिबद्ध जनाइन् । 

 

 

एक दिने अभिमुखी करण कार्यक्रममा जिल्ला सदरमुकाम सहित विभिन्न पालिकाबाट करिब ७० बढी महिला, उद्यमी महिलाहरूको सहभागिता रहेको छ ।