२८ लाख नगद सहित पक्राउ परेका इन्जिनियर सत्याल विरुद्ध आयोगले दर्ता गर्यो मुद्दा

| मंसिर २८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२८ मंसिर, रामेछाप । रामेछापमा २८ लाख घुससहित रंगेहात पक्राउ परेका नवराज सत्याल विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । 

 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको छ । 

 

 

सत्याल र थापा गत कात्तिक २ गते खानेपानीको भुक्तानी बापत सेवाग्राहीसँग घुस माग गरेर लिएको आरोपमा पक्राउ परेका थिए । उनीहरूलाई आयोगबाट आएको टोलीले सेवाग्राहीबाट रु १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा परेका थिए । 

 

आयोगका अनुसार अनुसन्धानको सिलसिलामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर सत्याल र प्लम्बर थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा रु २८ लाख घुस माग गरी लिएको पुष्टि भएको जनाएको छ। 

 

 

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको ठहर गर्दै सत्याल र थापालाई २८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम सजाय हुन मागवादी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको जनाएको हो। 

 

यता जिल्लामा भने केही जानकारहरूले सत्याललाई फसाउने नियतले उक्त आरोपमा जानाजान मुछाइएको दाबी गरेका छन् । पुरानो हिसाब किताब मिलाउने क्रममा उक्त घुस लेनदेन गरेको सूचना पुराइएकाले सत्याल फसाइएको स्रोतको दाबी छ ।  

 

यो पनि पढ्नुहोस् ।
रामेछापमा २८ लाख घुससहित रंगेहात पक्राउ परेका सत्यालको घरबाट थप साँढे ९ लाख बरामद