२ लाख राशिको पत्रकार ‘अक्षयकोष’ स्थापन गर्ने सांसद ‘कान्छाराम’ घोषणा (भिडिओसहित)

| मंसिर २९, २०७९ बिहिबार

A A A
A A A

२९ मंसिर, रामेछाप । प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले पत्रकार ‘अक्षयकोष’ स्थापना गर्ने घोषणा  गरेका छन् । 

 

बिहीबार पत्रकार महासङ्घ रामेछापको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद तामाङले २ लाख रुपैयाँ राशिको पत्रकार ‘अक्षयकोष’ स्थापना गर्ने घोषणा गरेका हुन् । उनले भने ‘मेरो आमाबुबाको नाममा २ लाख बराबरको अक्षयकोष स्थापना गर्दिन्छु । यो पत्रकारहरूको आपत्÷बिपतमा प्रयोग गर्न सक्ने गरी बनाउनु होला ।’

 

 

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले पत्रकारहरू सबैले स्वीकार्य हुनु पर्ने भन्दै सत्य, तथ्य बुझेर समाचार प्रकाशन प्रसारण गर्न आग्रह गरे । 

 

 

उनले पत्रकारहरू राज्यको चौथो अङ्ग भएको उल्लेख गर्दै जिल्लाका पत्रकारहरूको विकासको लागि सक्दो सहयोग गर्ने बचन दिए । उनले शिक्षक र पत्रकारहरू राजनीतिक बिचार बोकेको भए पनि आफ्नो जिम्मेवारीमा त्यो नदेखाउन आग्रह गरे । शिक्षक र पत्रकारले संगठन बनाउने हैन । संगठन त, हामी राजनीति गर्नेले बनाउने हो । तपाईहरु सेवामा लाग्नुहोस् भने ।

 

 

सांसद भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका सांसद तामाङले मतदाता र पत्रकारहरूलाई धन्यवाद दिँदै आफू जिल्लाको विकास गर्नको लागि सांसद भएको जिकिर गरे । साथै उनले पत्रकारहरुको जीवन बिमा गर्नु पर्नेमा जोड् दिँदै आगामी दिनमा सबै पत्रकारहरुको बिमा गर्ने बचन दिए । 

 

 

सांसद (कान्छाराम) भन्दा पहिले बोल्दै पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष पत्रकार टीका भट्टले एक लाख बराबरको पत्रकार सम्मान पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका थिए ।