२०७७ साल राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण वर्ष भयो-राष्ट्रपति भण्डारी
नयाँ वर्षको शुभकामना ब्यक्त
राष्ट्रपति बिधादेवी भण्डारी फाइल फोटो
बैशाख ०१, काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले गत वर्ष २०७७ साललाई राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमा लिन सकिने बताएकी छन् । नयाँ वर्षको २०७८ सालको शुभकामना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा सहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूको बिचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूहहरू सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु गत सालका महत्त्वपूर्ण राजनीतिक उपलब्धीहरू रहेको उल्लेख गरेकी छन् ।
यसका साथै, संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुसी प्रतिवेदन(२०२१ मा नेपाललाई दक्षिण एसियाको सबैभन्दा खुसी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड(१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनु जस्ता कुरा पनि गत सालका सकारात्मक उपलब्धीहरू हुन् रहेको राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना पत्रमा उल्लेख छ ।
यसैगरी, कोरोना कहरको बिचमै रानीपोखरी, दरबार हाईस्कूल लगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सम्पन्न हुनका साथै चीर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण सुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धीको रूपमा लिन सकिन्छ ।
त्यस्तै पूर्वाधारको पनि पूर्वाधारको रूपमा रहेको शिक्षा, अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि, समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको आधारको रूपमा रहेको औद्योगिक विकास र दिगो आर्थिक विकासको मानकको रूपमा रहेको वातावरण संरक्षण जस्ता विषयमा उच्च प्राथमिकताका साथ अग्रसर हुन सम्बद्ध सबैमा नयाँ वर्षले प्रेरणा प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्व सावधानीका उपायहरू अवलम्बन गर्दै दैनिक व्यवहारिक जीवन जारी राख्नका लागि पनि आह्वान गरेकी छन् ।
