रहेनन् दाेलखाका अभिभावक,एमाले नेता चाैलागाई
फाइल फाेटाे
२९ बैशाख, रामेछाप । छिमेकी जिल्ला दाेलखाका नेकपा एमालेका नेता पशुपति चौलागाईकाे निधन भएको छ ।
काेराेना संक्रमित चाैलागाईकाे मंगलबार साँझ निधन भएको उनकाे पारिवारिक स्राेतले जनाएको छ ।
उनलाई कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गरारहेकाे थियाे ।
एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए ।
पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।
