मन्थली नगरपालिकाले २०८१ जेठ मसान्तभित्र ‘बालमैत्री स्थानीय शासन नीतिगत, प्रक्रियागत कार्य कार्यान्वयन’ घोषणा गर्ने (भिडिओसहित)

| पुस ११, २०७९ सोमबार

A A A
A A A

११ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा गर्ने भएको छ । 

 

गत शनिवार र आइतबार सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रममा आगामी २०८१ साल जेठ मसान्त भित्र बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको हो । 

 

नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नते, प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँ सहित १४ वटै वडाका अध्यक्ष, सचिव, नगरको विभिन्न शाखा, उपशाखा प्रमुख, नगरभित्रका शिक्षक, प्रअ, विद्यार्थी र सञ्चारकर्मीको उपस्थितिमा नगरलाई बामैत्री स्थानीय शासन, नीतिगत, प्रक्रियागत कार्य कार्यान्वयन तथा घोषणा गर्ने अभियानको प्रारम्भ सुरु भएको नगरपालिकाले जनाएको हो ।

दुई दिन अभिमुखीकरण गरी बालबालिकाको हक अधिकारसँगै बालबालिकाको उपस्थिति, सहभागिता र प्रभाकारितालाई प्रमुख रूपमा अगाडि सारेर नगरलाई बालमैत्री स्थानीय नगर घोषणा गर्न प्रेरित गरिएको थियो । 

 

यस अगाडि जिल्लाको रामेछाप नगरपालिकाले पनि बालमैत्री स्थानीय शासन युक्त नगर बन्ने बाटोमा लम्किँदै गरेको परिस्थितिमा मन्थली नगरले पनि उक्तबाटको अँगालेको हो । 

बालबालिकालाई हरेक क्षेत्रमा उपलब्धि मूलक सहभागी गर्न, टोल–टोल, गाउँ–गाउँ सम्म कसरी सुधार्ने, विद्यालय, बजार, घर, परिवारमा उनीहरूको चाहना आवश्यकतालाई कसरी लिने, ग्रहण गर्ने उनीहरूको अधिकारलाई कसरी सम्मान गर्ने जस्ता कुरालाई ध्यानमा राखेर अगाडि बढ्ने लगायतका विषयमा प्रमुख प्रशिक्षक विष्णुप्रसाद चौबेले प्रशिक्षण दिएका हुन् । 

 

अभिमुखीकरणमा सहभागी वडा अध्यक्षहरूले कतिपय वडामा काम भइरहेको र नभएका वडामा तत्काल सूचकलाई आधार मानेर काम गर्ने प्रतिबद्धता जनाए । 

प्रतिबद्धतापत्रमा हस्ताक्षर भिडिओ 

 

नगरलाई बालमैत्री नगर घोषणा गर्न आफूहरू उत्साहित रहेको उल्लेख गर्दै तोकिएको मितिमा घोषणा गरेर अगाडि बढ्ने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाए । साथै सो बाटोमा अगाडि बढ्ने वडा अध्यक्ष, सचिव, शाखाहरूलाई निर्देशन समेत दिए ।