रामेछाप–काठमाडौँ सृजनशील समाजले शनिवार मन्थलीमा ‘नगर विकास बहस गर्ने’

| माघ ३, २०७९ मंगलबार

मन्थली नगरपालिका, फाइल फोटो ।
A A A
A A A

३ माघ, रामेछाप । रामेछाप–काठमाडौँ सृजनशील समाजले मन्थली नगरपालिकाको ‘समृद्ध मन्थली नगरको लागि प्रशिक्षाणात्मक  अन्तरक्रिया कार्यक्रम’ गर्ने भएको छ । 

 

नगरपालिकाको सभा हलमा आउँदो शनिवार बिहान ८ बजेदेखि विगत २ वर्षदेखि समृद्ध रामेछापको लागि “रामेछाप विकास बहस” सञ्चालन गर्दै आएको यो संस्थाले मन्थली नगरपालिकाले आगामी ५ वर्ष भित्र के गर्छ भन्ने सन्दर्भमा विस्तृत छलफल तथा जानकारी लिन लागेको कार्यक्रम संयोजक कृष्णहरि बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामीले मेयरसावको आगामी ५ वर्षे योजना र भिजनको बारेमा उहाँको प्रस्तुति सुन्नेछौँ । र, त्यसपछि यो नगरको सम्भावना, समस्या र समाधानको विषयमा छलफल गर्नेछौँ बुढाथोकीले भने ।’

 

नगरपालिकाको संयोजनमा हुन लागेको प्रतिरक्षात्मक एवम् अन्तरक्रियात्मक सहितको कार्यक्रम नगरभित्रका सबै पदाधिकारी एवम् कर्मचारीहरू, १४ वटै वडा अध्यक्ष, वडा सदस्यलाई खबर गरी सहेको उनले जानकारी दिए । 

 

त्यस्तै सो कार्यक्रममा नगर निवर्तमान प्रमुख, प्रत्याशी, जिल्लाका सबै राजनैतिक दलका नेतृत्वहरू, पूर्व माननीय एवम् वर्तमान माननीय, उद्योगी, व्यवसायी, विज्ञ, सर्वसाधारण सहित व्यापक छलफल गर्न लागेको उनको भनाई छ । 

संस्थाले केही समय पहिले जिल्ला भरिका शिक्षकहरूलाई समेट्ने गरी बक्तित्वकला प्रतियोगिता आयोजना गरेको थियो । त्यसबाट उत्कृष्ट भएका ३ जना शिक्षकले नगरको सम्भावना, समस्या र समाधानको विषयमा तयार पारेको प्रस्तुति रहेको संयोजक बुढाथोकीले जानकारी दिए । 

 

यो बहसले यहाँको आगामी ५ वर्षे नीति तय गर्ने उनको दाबी छ । यहाँको विशिष्टीकृत कार्यान्वयन योग्य नीति, कार्यक्रम तर्जुमा, सो को प्रभावकारी कार्यान्वयन, विकासमा आम सचेतना र सक्रियता अभिवृद्धि गर्न, जनसहभागिता एवम् पारदर्शिता वृद्धि गर्न, उद्यमशीलता तथा बजारीकरण लगायत विकासका विविध बहु आयामिक पक्ष तथा आयामहरूको चर्चा परिचर्चा हुने दाबी गर्दै यसले मन्थलीलाई समृद्ध बनाउन विशेष भूमिका खेल्न जिकिर गरे ।