मन्थली नगरपालिकाले सबै वडा पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै, आज गेलु, भोलि चिसापानीमा

| माघ १७, २०७९ मंगलबार

A A A
A A A

१७ माघ, रामेछाप । मन्थली नगरपालिकाले १४ वटै वडामा पुगेर प्रदान गर्ने स्वास्थ्य शिविर सोमबारबाट सुरु गरेको छ । 

 

मन्थली नगरपालिकाको आयोजनामा सोमबार वडा नं १४ फुलासी स्वास्थ्य चौकीमा निःशुल्क प्रयोगशाला, चिकित्सक सहितको दिसा, पिसाब, रगत परीक्षण एवं उपचार सेवा प्रदान गरिएको नगरको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हिजो फुलासीबाट १४ र १३ लाई सेवा दिएर सुरु गरेका छौँ । आज १२ गेलुमा जारी छ । १४ वटै वटामा पुगेर सेवा दिने हाम्रो तयारी छ ।’

पहिलो दिन दुई वडालाई लक्षित गरी सञ्चालित शिविरमा  एक सय पाँच जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको उनले बताए । 

 

महिला, बालबालिका, ज्येष्ठ नागरिक, किशोर, किशोरी लगायतलाई प्राथमिकता दिएर आयोजना गरिएको शिविरमा सबै खाले रोगको उपचार गरिएको स्वास्थ्य प्रमुख फुयाँलले जानकारी दिए । ‘सबै रोगको उपचार गरिन्छ । सेवा लिएका छन् । भोलि ८ नम्बरमा छ । सबै ठाउँमा पुग्छौँ ।’

 

यसरी गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी भएका छन् । गाउँमै उपचार गर्न पाएपछि उनीहरूको पैसा र समयको बचत भएकोमा हर्षित बनेका हुन् । पैसाको अभावमा रोग पालेर बसेकाहरू पनि गाउँमै यसरी निःशुल्क सेवा पाउँदा खुसी लागेको वडा नं १४ की निर्मला तामाङले बताइन् । 

सबै तस्बिर स्रोत केशव फुयाँल । 

पहिलै देखिनै सेवन गर्दै आएको औषधि सकिएर बसेका दीर्घ रोगी पनि गाउँमै औषधि पाएपछि स्थानीय सरकार रहेछ भन्ने आभास हुन थालेको बताए । सेवाग्राहीहरूले आगामी दिनमा पनि यस्ता शिविर बेला बेलामा भइराखे सुविधा हुने बताए ।