मन्थली नगरपालिका : भैँसीको दूध अत्यधिक माग,१७० वटा भैँसीले कमाए ४ लाख २५ हजार, दूधमा २ रुपैयाँ अनुदान दिँदा किसानको खातामा ७ लाख

| माघ १९, २०७९ बिहिबार

मन्थली नगरपालिकाको पशु शाखाले गाइको उपचार गर्दै । फाइल फोटो ।
A A A
A A A

१९ माघ, रामेछाप । मन्थली नगरपालिकाको पशु सेवा उपशाखाले चालु आर्थिक वर्षमा किसान लक्षित कामलाई थप सक्रिय बनाएको शाखाले दाबी गरेको छ । त्यसै अनुसार आफ्नो काम पनि तीव्र पारेको शाखाले जनाएको हो । यहाँका बजारमा भैँसीको दूधको मात्र अत्यधिक माग भएको किसानहरू बताउँछन् । 

 

बिहीबार रामेछाप टाइम्ससंग कुरा गर्दै नगरको पशु सेवा शाखा प्रमुख मुकुन्द कुमार खड्काले तत्कालीन अवस्थामा भैँसीको दूध अत्यधिक माग रहेकाले यसको वृद्धिमा जोड् दिएको जानकारी दिए ।

 

उनले रामेछाप टाइम्ससंग भने ‘भैँसीको दूधको माग अत्यधिक छ । त्यसैले भैँसीसँगै दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले नगरले भैँसीमा सुत्केरी स्याहार  प्रोत्साहन भत्ता दिँदै आएको छौँ । १८४ जना किसानले प्रस्ताव गरे । स्थलगत निरीक्षण गरेपछि हामीले प्रक्रिया पुगेका १७० जनालाई भैँसीको सुत्केरी प्रोत्साहन स्याहार कार्यक्रम अनुसार प्रति भैँसी २५ सयका दरले १५२ जना किसानका १७० वटा भैँसीलाई कूल चार लाख २५ हजार अनुदान वितरण गरेका छौँ ।’

प्रमुख खड्काका अनुसार यो रकम गत असार १ गतेदेखि यही माघ १५ गते सम्म किसानको बैङ्क खातामा पठाइएको छ । शाखाले ९०७ गाई र ३३५ वटा भैँसी गरी कूल एक हजार २ सय ४२ वटाको कृत्रिम गर्भधारण सेवा दिएको खड्काले बताए । 

 

त्यस्तै यही अवधिमै नगरका मुख्य–मुख्य बजार क्षेत्रमा सामुदायिक तथा छाडा कुकुर व्यवस्थापन गर्नेको लागि बन्ध्याकरण शिविर गरिएको छ । नगरको वडा नं १, ४, र ११ को सावा डाँडामा सम्पन्न भएका छन् । जसमा चार हजार ४६४ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको बताए । 

 

त्यस्तै दूध उत्पादनमा अनुदान समेत दिँदै आएको यो नगरले गाई र भैँसी पालेर व्यावसायिक रूपमा आम्दानी गर्दै आएका किसानलाई प्रति लिटर २ रुपैयाँका दरले भुक्तानी दिँदै आएको छ । गत असार १६ गतेदेखि असोज मसान्त सम्म २५५ जना किसानले पाउने सात लाख १३ हजार ८९० रुपैयाँ किसानको बैङ्क खातामा पठाइ सकिएको खड्काले जानकारी गराए । 

 

पशुपालनबाट राम्रो आम्दानी गर्ने थालेको किसानहरूको भनाई सुनाउँदै खड्काले मासु, अण्डा र दूधमा आत्मनिर्भर तर्फ नगर अगाडि बढेको स्पष्ट परे । उनले बजार माग अनुसार सबै पूरा नभए पनि धेरै मात्रमा धानेको बताए ।