मन्थली नगरपालिकाको ‘पाँचौँ राष्ट्रपति रनिङ्शिल’ माघ २६ गतेबाट

| माघ १९, २०७९ बिहिबार

A A A
A A A

१९ माघ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको राष्ट्रपति रनिङ्शिल प्रतियोगिता सुरु गर्ने तयारी गरेको छ । नगरले यही माघको अन्तिम हप्ता २६ गतेदेखि २८ गतेसम्म पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न लागेको नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी दिए ।



‘रनिङशिल प्रतियोगिता यसै साता गर्ने निर्णय अनुसार तयारीका काम सुरु भएको छ’, बुढाथोकीले भने । विगतका वर्षहरूमा सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समिति (जिसस) पछाडिको चौर र मन्थली मा.वि.मा प्रतियोगिताका कार्यक्रम गर्दै आएको यो नगरले यो वर्षको कार्यक्रम स्थल पनि केही परिवर्तन गर्दै मन्थलीकै गडवारिमा रहेको नागकन्या मा.वि.बाट सुरु गर्ने निर्णय गरेको छ ।


नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, व्यवस्थापन एवं निर्देशन समितिको बैठकले एथलेटिक्स, कबड्डी र ओपनिङ खेल नागकन्या मा.वि.मा गर्ने निर्णय गरेको सूचना अधिकारी बुढाथोकीले जानकारी गराए ।


खेल हुने मैदान तयारी हुँदै, तस्बिर देवेन्द्र श्रेष्ठ । 

त्यस्तै भलिबल र अन्य खेलहरू जी.वि.स. चौरमा गर्ने तयारी नगरको रहेको उनले बताए ।तीन दिने चल्ने प्रतियोगितामा नगरपालिका भित्रका २२ वटा माद्यामिक विद्यालयहरूले सहभागिता जनाउने छन् ।


विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई बाहिर ल्याउने र बाह्य क्रियाकलापमा सहभागी गराउने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गरिँदै आइएको छ ।


प्रतियोगितामा विभिन्न खेलमा प्रतिस्पर्धा गराइने छ । जसमा प्रथम हुनेले ‘पाँचौँ राष्ट्रपति रनिङ शिल्ड’ जित्ने छन् ।