मन्थली बजारका व्यापारीलाई नगरको चेतावनी, ‘सटर भन्दा बाहिर सामान राखेर बेचेको भेटिए जुनसुकै बेला जफत हुन्छ’ (भिडिओसहित)

| माघ २५, २०७९ बुधबार

A A A
A A A

२५ माघ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सटर भन्दा बाहिर पसलका सामान राखेर बेचेमा जफत गर्ने चेतावनी दिएको छ । नगरले त्यसको लागि पसलका सामान खरिद, बिक्री गर्दा निश्चित ठाउँ (सटर) बाट मात्रै बेच्न व्यापारीलाई सचेत गराएको छ । यसको लागि नगरपालिकाले बजार क्षेत्रमा सूचना नै बजाएर जानकारी गराएको छ । 

 

केही दिन यता नगरपालिकाले मन्थली बजार क्षेत्रमा व्यापारीहरूलाई जताततै सामान राखेर बिक्री गर्दा बजार अव्यवस्थित देखिएको, ग्राहक, पैदल यात्रुलाई समस्या भएको भन्दै अब व्यपारीहरुले सामान बेच्दा सटर भन्दा बाहिर राख्न नपाउने जानकारी गराएको छ । 

 

मन्थलीका व्यवसायीहरूले भने नगरले मन्थली बजार व्यवस्थापनको काम गर्दा काम अलपत्र पारेको, पानीको पाइप, ढल व्यवस्थापनको काम दिगो तरिकाले नगरेको भन्दै आक्रोश जनाउँदै आएका छन् । 

मन्थली बजारमा सामाग्री सटरबाट मात्रै बेच्न सूचना बजाउँदै हिडेको नगरको गाडी, तस्बिर मिलन घिमिरे/रामेछाप । 

होटेल व्यवसायी समेत रहेका नेपाली काँग्रेसका उपसभापति लेखबहादुर कार्कीले औपचारिक कार्यक्रमहरूमा नगरप्रमुख लव श्रेष्ठको ध्यानाकर्षण जनाउँदै पटक–पटक बजार व्यवस्थापन दिगो नभएकोमा आपत्ति सहितको आक्रोश नै व्यक्त गर्दै आएका छन् । यसलाई दीर्घकालीन तरिकाले काम गर्नु पर्नेमा उनको सुझाव छ । 

 

जिल्ला सदरमुकाम समेत रहेको यहाँको बजार क्षेत्रमा नगरले अहिले अन्य नियाकयरुको समन्वय र सहकार्यमा व्यवस्थापनको काम गर्दै आएको छ । 

 

मन्थली बजारलाई सौन्दर्य र व्यवस्थित पार्नको लागि जताततै सामान नराख्न आग्रह गरेको नगर प्रहरी नवीन भुजेलले बताए । ‘हामीलाई नगरले दिएको आदेश हो । सटर भन्दा बाहिर सामान नराख्न भनिएको छ,’ भुजेलले रामेछाप टाइम्सलाई बताए । 

 

केही हप्ता यता अगाडि मन्थलीका सबै व्यवसायीहरूले नगरप्रमुखको कार्यकक्षमा पुग्दै नगरको ध्यानाकर्षण सम्म गरेका थिए । उनीहरूले आफूहरूलाई नगरले व्यवसायबाटै पलाएन गर्ने नियत देखिएको गुनासो गरेका हुन् । बजार व्यवस्थापनसँगै व्यापारीहरूलाई पनि सहजीकरण गर्न उनीहरूले माग गरेका थिए । 

 

भिडिओ हेर्नुहोस् ।