लिखु तामाकोशीमा गाउँभरिको लाखौँ मूल्यको सुन चोरी गर्ने महतरा पक्राउ

| फागुन १, २०७९ सोमबार

A A A
A A A

१ फागुन, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा लाखौँ मूल्यका सुनका गरगहना सहितका सामान चोरी गर्ने एक जनालाई प्रहरीले चोरिएका सामान सहित पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा सोही पालिकाको वडा नं ३ बेनीका १९ वर्षीय लोकबहादुर महतरा रहेका छन् । उनको साथबाट चोरी गरिएको लाखौँ मूल्यका सुनका गरगहना सहित मोबाइल, शङ्ख लगायतका सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

उनका अनुसार गत बिहीबार पालिकाको वडा नं ४ बिजुलीकोट नागिटोल बस्ने शम्भु महताराकी ४८ वर्षीय श्रीमती गोमाको सुनका गरगहना घरबाटै चोरी भएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । ‘महतराको घरमा कोही नभएको समयमा घरको मूल ढोका धकेली भित्र पसेर बाक्सामा राखेको सुनको गरगहनाहरू चोरी भएको रहेछ । चोरको खोजी गर्ने तथा अनुसन्धानको क्रममा महातरालाई आइतबार सामान सहित पक्राउ गरिएको हो ।’

महातरालाई आइतबार १० बजे जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको ढकालले जानकारी दिए । 

 

पक्राउ परेका महतराले लुकाएर पालिकाको वडा नं ४ नागी टोल बाँझो बारी भन्ने ठाउँमा राखेको अवस्थामा सुनको तिलहरी ठुलो, सानो ४ थान, सुनको सात गेडी सानो खाले ७ थान, मङ्गलसूत्र सानो १ थान, सुनको कानमा लगाउने ढुङ्ग्री २ थान, पोते काटिएको अवस्थामा ६ थान, ठुलो लुङ् ४ थान, सानो लुङ् २ थान, पोते काट्न प्रयोग गरेको पिलास १ थान फेला परेको छ । यसरी लाखौँ मूल्यको सुन सहितका सामान फेला परेपछि उनले गाउँका अधिकांश घरबाट चोरी गरेको प्रहरीको आशङ्का छ । 

 

त्यस्तै महतराको घरबाटै नोकिया मोबाइल १ थान, मेमोरी कार्ड र कार्ड रेडर १–१ थान भेटिएको छ । वडा नं ५ आलडाँडा फोहोर फाल्ने ठाउँ नजिकबाट  सुनको गरगहना र शङ्ख १ थान फेला परेको छ । 

 

बहुमूल्य गहना र चोरिएका सामान सहित पक्राउ परेका महातरालाई जिप्रका ल्याएर थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।