वाणिज्य विभाग बबरमहलमा बिचौलिया बनेर सेवाग्राहीलाई दुःख दिने रामेछापका लामा सहित ३ जना पक्राउ

| फागुन ४, २०७९ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

४ फागुन, रामेछाप । वाणिज्य विभाग बबरमहल काठमाडौँमा बिचौलिया बनेर सेवाग्राहीहरूलाई काम छिटो छरितो गरी दिन्छु भन्दै दुःख दिने रामेछापका सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु बुधवार दिउँसो पक्राउ परेका हुन् । 

 

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका वडा नं ९ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा छन् । 

 

त्यस्तै उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ बस्ने २९ वर्षीय नीरज बुढाथोकी र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी पोषराज पोखरेलले जानकारी दिए । 

 

उनका अनुसार प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरिएको हो । 

 

पक्राउ परेका उनीहरू माथि अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।