शरीरको आधा भाग जलेको अवस्थामा बेतालीमा एक महिलाको शव भेटियो

| फागुन ७, २०७९ आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

७ फागुन, रामेछाप । रामेछापको बेतालीमा एक महिलाको आधा शरीर जलेको अवस्थामा भेटिएको छ । 

 

गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा ७१ वर्षीय वृद्ध पद्म कुमारी खड्काको शव आज आइतबार बिहान भेटिएको सोही वडाका अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । ‘उहाँले बिक्री गरेको घरमा एक्लै बस्दै आउनु भएको थियो । सोही घर भित्रै जलेको अवस्थामा गाउँलेले देखेछन् । त्यसपछि प्रहरीको रोहबरमा शव उठाइएको छ ।’

 

 

स्थानीयहरूका अनुसार उनी शनिवार सम्म सामान्य रहेकी थिइन् । विवाहित भए पनि अर्काको घरमा एकलै बस्दै आएकी थिइन् । 

 

आज बिहान अबेर सम्म ढोका नखुलेपछि सोधखोज गरी घर भित्र गएर हेर्दा चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रीले शरीर छोपिएको अवस्थामा भेटिएको वडा अध्यक्ष बस्नेतले बताए । 

 

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा प्रहरीको टोली त्यहाँ पुगेको छ । सो प्रहरीको टोलीले स्थानीयहरू सँग सोध पुच्छ गरी वृद्धको शव पोस्ट मार्टमको लागि मन्थली ल्याउने तयारी भइरहेको वडा अध्यक्ष बस्नेतले बताए । 

 

घटना बारे मुचुल्का उठाएर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले बताए । यस अगाडि हिजो गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा घाँस काट्न जाँदा भिरबाट लडेर एक जनाको ज्यान गएको थियो ।