प्रजातन्त्र दिवसको अवसरमा रामेछापका २ जना कैदीले पाए आम माफी

| फागुन ७, २०७९ आइतबार

सांकेतिक तस्बिर ।
A A A
A A A

७ फागुन, रामेछाप । प्रजातन्त्र दिवसको अवसरमा रामेछापका दुई जना कैदीले आम माफी पाएका छन् । उनीहरूले भुक्तान गर्न बाँकी कैदको ५० प्रतिशत कटौती गरिएको हो ।

 

आइतबार सरकारले प्रजातन्त्र दिवसको अवसरमा दिएको आम माफीमा जिल्ला कारागारमा विभिन्न मुद्दामा दोषी ठहर भएर कैद भुक्तानी गर्दै आएका सिन्धुपाल्चोक जिल्लाका लालकाजी भनिने कर्मा लामा र रामेछापकै खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका तीर्थ कुमार श्रेष्ठको ५० प्रतिशत कैद सजाय कट्टा जिल्ला कारागार रामेछापका प्रमुख रुपलाल तामाङले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

प्रमुख तामाङका अनुसार सिन्धुपाल्चोकका लामा कर्तव्य ज्यान मुद्दा र राकाथुमका श्रेष्ठ चोरी मुद्दामा कैद भुक्तान गर्दै आएका थिए । उनीहरू प्रक्रिया पुराएर भोलि जेल मुक्त हुने छन् । 

 

आज ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बानी, ब्यहोरामा सुधार भएका ३९५ जनाको सजाय माफी गरेकी छन् । विगतका वर्ष देखिनै यसरी कैद कटौती गरिँदै आएको छ । गत जेठ १५ गते १५ औं गणतन्त्र दिवसको अवसर पारेर राष्टपति  भण्डारीले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुको आचरणमा आएको सुधारको आधारमा गरेको आममाफि मिनाहामा रामेछापका २३ जना जेल मुक्त भएका थिए ।