४ चैतमा शैलुङ्मा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुँदै

१० फागुन, रामेछाप । रामेछापको ऐतिहासिक पर्यटकीय स्थल शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुने भएको छ ।
शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन, सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्य र हिमालयन ट्रेल रनिङको प्रायोजकमा आउँदो चैत्र ४ गते दौड प्रतियोगिता गर्न लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
उक्त प्रतियोगिताको नाम ‘शैलुङ अल्ट्रा म्याराथन २०२३’ नामकरण गरिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
उनले भने ‘म्याराथन (दौड प्रतियोगिता) जिल्लामा पहिलो पटक गर्न लागेका हौँ । यसबाट जिल्लाको नाम पनि रहन्छ । भने, अर्कोतिर जिल्लाकै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थान शैलुङ क्षेत्रको प्रचारप्रसार हुन्छ । यसले पर्यटक भित्राएर जिल्लाको समग्र विकास निमार्णमा मद्दत पुग्ने अपेक्षा राखेका छौँ ।’
उनका अनुसार विभिन्न ३ विधामा सञ्चालन गर्न लागिएको खेलमा ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दूरीका दौड हुने छन् । यी तीन वटै विधामा देशी तथा विदेशी महिला र पुरुष खेलाडीले सहभागिता जनाउन पाउने छन् । ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट जिल्लाकै ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वरी–दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्ने छ ।
त्यस्तै २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ । ५ किलो मिटर दौड प्रतियोगितामा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रमा मात्रै दौडने जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख अर्जुन कार्कीले जानकारी दिए ।
प्रतियोगीमा सहभागी हुन चाहने खेलाडीको नाम दर्ताको लागि आवेदन खुल्ला गरिएको छ । भाग लिनको लागि नेपाली र विदेशी खेलाडीलाई दर्ता शुल्क छुट्टा छुटै निर्धारण गरिएको छ ।
जसमा नेपाली खेलाडीलाई प्रति खेलाडी २ हजार, सार्क राष्ट्रका खेलाडीहरूलाई प्रति खेलाडी ३ हजार र अन्य मुलुकका खेलाडीलाई प्रति खेलाडी ५ हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक संस्थाले जनाएको छ ।
स्रोत गंगालाल गोले
म्याराथनमा सहभागी खेलाडीहरू मध्ये ५५ किलोमिटरमा प्रथम हुने खेलाडीले नगद ७५ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्वितीय हुने खेलाडीले ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् ।
२५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले प्रथम, द्वितीय र तृतीयले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद र प्रमाणपत्र पाउने छन् ।
५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले पनि प्रथम, द्वितीय र तृतीयले नगद १५ हजार,१० हजार र ५ हजार रुपैयाँ र प्रमाणपत्र हाँसिले गर्ने जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।
भिडिओ हेर्नुहोस्