उपप्रमुख बस्नेत भन्छिन् ‘तालिम लिन आह्न गर्‍यौँ,खाजा–भत्ता के छ ? भनेर सोध्छन्, योजना लिएर एक जना आउँदैनन्, उनीहरुनै काम केही गरेनन् भनेर आलोचना गर्छन्

| फागुन २५, २०७९ बिहिबार

A A A
A A A

२५ फागुन, रामेछाप । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले नगरका महिलाहरू केही गर्ने योजना र उद्देश्य लिएर आफूसँग नआएको गुनासो गरेकी छन् । आफूहरू केही योजना पनि लिएर नआउने, निष्क्रिय भएर बस्ने अनि जनप्रतिनिधिले केही गरेनन् भनेर हिँड्ने चलन भएको उनको भनाई छ । आफूहरूलाई पनि काम गर्ने बनाउनु स्थानीय एवं प्रत्येक वडा बासीको दायित्व रहेको भन्दै योजना लिएर माग गर्न आएको कुनै पनि काम गर्न सक्ने वातावरण मिलाउने उनले प्रतिबद्धता जनाइन् । 

 

बुधवार नगरको सभा हलमा भएको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा महिलाहरूसँग बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन् ‘वडाबाट केही यस्तो गर्नु पर्‍यो भने माग हुँदैन, अझ हामीले तालिम आयोजना गर्दा पनि सहभागी हुँदैनन् । तालिममा भाग लिनको लागि पहिले भत्ता आउँछ कि आउँदैन भन्दै सोध्नेहरू छन् । त्यसैले माग गर्नुहोस् सबै मिलेर लागौँ । एक जनाले मात्रै केही गर्न सकिँदैन । सङ्कुचित नहौं । सामाजिक आर्थिक र पारिवारिक सबै ठाउँबाट हामीले सुधार गर्न सक्छौँ ।’

 

उपप्रमुख बस्नेतले केही महिना अगाडि नगरले प्रत्येक वडाका महिलाहरूको लागि सिप सिकाउन तालिम गर्नको लागि सूचना निकाल्दा १४ वटा वडाबाट जम्मा २० जना मात्रै दुई पटक सूचना प्रकाशन गर्दा सहभागी भएको जानकारी दिइन् । पहिलो पटक सूचना प्रकाशन गर्दा कोही पनि भाग लिन नआएको र तालिम लिँदा भत्ता आउँछ कि आउँदैन, खाजा, खाना के हुन्छ भनेर सोध्न महिलाहरू भेटिएको भन्दै आक्रोश पोखिन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्की

उनले सिप सिकेर सक्षम बन्नु पर्नेमा जोड् दिँदै प्रविधिलाई सही सदुपयोग गर्नु पर्नेमा जोड् दिइन् । महिलाहरू डक्टर,पाइलट,राष्ट्रपति, जनप्रतिनिधि सबै ठाउँमा रहेकाले हामी सक्छौँ भन्ने भावना ल्याउनु पर्नेमा जोड् दिइन् । 

 

नगरमा पनि महिलाहरू सक्षम र शिक्षित रहेको भन्दै सबै मिलेर सामूहिक हितको लागि काम गर्न जोड् दिइन् । 

 

नगरले ११३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विभिन्न जनचेतना मूलक र्‍याली प्रदर्शन सहित नगरको हलमा पुगेर कोण सभामा परिणत भएर महिलाहरूको हक, अधिकार, समस्या, चुनौती र समाधानका केन्द्रित भएर लाग्नु पर्ने विषयमा अन्तरक्रिया सहित छलफल गरेर मनाइएको छ । 

तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स