स्ववियु निर्वाचन : गठबन्धनले दर्ता गर्‍यो नेविसंघका अविनाश कार्कीलाई सभापति बनाउँदै उम्मेदवारी

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुने लागेको स्ववियु निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) रामेछापले अभिनाश कार्कीको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । 

 

आज शनिवार नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ  (कान्छाराम) सहित नेपाली काँग्रेस र माओवादीका नेताहरू सहित पुगेको टिमले ‘ब्याच्लर सेकेण्डइयर’ मा अध्ययनरत विद्यार्थी नेता कार्कीलाई सभापतिको उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरेको छ । 

 

संयुक्त गठबन्धन मार्फत चुनावमा भाग लिएको काँग्रेसले सभापति लिँदा सचिवमा भने क्रान्तिकारीका तेज बहादुर श्रेष्ठ बनेका छन् । गठबन्धनको टिमले कोषाध्यक्षमा महिलालाई अगाडि सार्दै एकीकृत समाजवादी निकट विद्यार्थीकी नेतृ कविता खरेललाई उम्मेदवार बनाइएको छ ।   

 

त्यस्तै नेविसंघले मनीषा काफ्ले र युवराज बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । क्रान्तिकारी विद्यार्थी सङ्घले विनीता माझी र अनोज भुजेललाई उम्मेदवार बनाउँदा एक कोषाध्यक्ष सहित एक सदस्य पाएको गठबन्धनको अनेरास्ववियूले विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार उठाएको छ । 

 

क्याम्पसमा १० जना समानुपातिकको बन्द सूची सहित पेस गरेको गठबन्धनको संयुक्त टिमले आफूहरूको जित सुनिश्चित रहेको बताए । 

 

यसैबिच उम्मेदवारी दर्तापछि गठबन्धनको टिमले क्याम्पस वरपर रुखका बिरुवा रोपेर आफ्नो टिमको काम अगाडि बढाएको बताएको छ । ‘हामीले यो कामको सुरुवात गरेका हौँ । हामीले गर्न बाँकी धेरै छ । हाम्रो यात्रा सुरु भयो । संयुक्त टिमको झन्डा फहराउँछौँ सभापतिका उम्मेदवार कार्कीले रामेछाप टाइम्ससंग भने ।’

 

पार्टीका अग्रज नेता र क्याम्पसका विद्यार्थीहरूको मनोभावनालाई बुझेर कार्कीलाई सभापतिको उम्मेदवार बनाएको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । उनले संयुक्त टिम एक भएर लागेकाले चुनाव जित्न निश्चित रहेको बताए । 

 

त्यस्तै क्रान्तिकारी विद्यार्थी संगठनका नेता भिषम चौलागाईले गठबन्धन निकै कसिलो र दरिलो रहेकाले यो टिको जित पक्का रहेको जिकिर गरे ।