राष्ट्रिय युवा संघ नेपाल रामेछापको अध्यक्षमा कार्की, सचिवमा मगर दोहोरिए

| चैत ८, २०७९ बुधबार

A A A
A A A

८ चैत, रामेछाप । राष्ट्रिय युवा संघ नेपाल रामेछापको अध्यक्षमा सुरेन्द्र कार्की निर्विरोध चयन भएका छन् । 

 

गत सोमबार र मङ्गलवार मन्थलीमा सम्पन्न सङ्घको सातौँ जिल्ला अधिवेशनले मन्थली नगरपालिका वडा नं ३ का जन निर्वाचित वडा अध्यक्ष समेत रहेका युवा नेता कार्कीलाई युवा सङ्घको जिम्मेवारी सुम्पिएको हो । 

 

कार्कीको अध्यक्षतामा ५० सदस्यीय जिल्ला कमिटी घोषणा भएको कार्कीले जानकारी दिए । यस अघि युवा संघ रामेछापको अध्यक्षमा बज्र लामा थिए । दुई वर्षे कार्यकालको लागि अध्यक्ष सहित पदाधिकारी सर्व सहमतिमा टुङ्ग्याइएको हो । जसमा उपाध्यक्षमा महिला नेतृलाई अगाडि सार्दै मनिता सुनुवार चयन भएकी छन् । 

 

त्यस्तै सचिवमा भने शिव सागर मगर दोहोरिएका छन् । उनी यसअगाडि पनि सचिव थिए । बितेको दुई वर्षे कार्यकालमा सोचेको जस्तो काम गर्न नसेको स्वीकार गर्दै यो कार्यकाल थप सक्रिय बनेर काम गर्ने रामेछाप टाइम्सलाई बताए ।

 

त्यस्तै सङ्घको सह–सचिवमा बलराम थापा मगर, र रामहरि कार्की चयन भएका छन् । भने, कोषाध्यक्षमा दीपक भण्डारीले जिम्मेवारी पाएका छन् । 

 

अध्यक्षमा चयन भएपछि कार्कीले आफूले अवसर र चुनौती दुवै महसुस गरेको बताए । उनले भनेका छन् ‘यो अधिवेशनले चुनौतीहरूलाई चिर्न सक्ने र अवसरलाई सदुपयोग गर्न सक्ने सिङ्गो जिल्ला कमिटीको गठन भएको छ । जसले गर्दा युवा संघ जिल्ला कमिटीलाई एउटा उचाइमा पुर्‍याउने आस हामीले गरेको छौ ।’

 

सम्पन्न अधिवेशनले यूथ फोर्सको जिल्ला प्रमुखको जिम्मेवारी रोशन पाख्रिन (सानो) लाई दिएको छ । भने, साइबर सर्कल जिल्ला प्रमुखको जिम्मेवारी आकाश खड्काले पाएका छन् । 

 

यसैबिच नवनिर्वाचित सङ्घको पहिलो जिल्ला कमिटीको बैठक मङ्गलवार नै बसेको छ । बैठकले सङ्गठनका आगामी योजना निर्माण गरेको छ । 

 

सचिवमा दोहोरिएका शिवसागर मगरसंग केही दिन अगाडि गरिएको कुराकानी सुन्नुहोस् । 

तस्विर स्रोत सुरेन्द्र कार्की ।