गोकुलगंगामा वृद्धामाथि खुकुरी प्रहार घटना प्रकरणमा प्रहरीलाई पहिलो सफलता : ४ जना पक्राउपछि फेला पर्‍यो प्रहार गरिएको खुकुरी

| चैत १९, २०७९ सोमबार

फाइल फोटो ।
A A A
A A A

२० चैत, रामेछाप । गोकुलगंगा गाउँपालिका ४ बेतालीमा ८४ वर्षीय वृद्धालाई खुकुरी प्रहार गरी ज्यान लिएको घटनामा जिल्ला प्रहरी कार्यालय रामेछापले एक हप्तापछि खुकुरी भेटेको छ । यो घटनामा जोडियो यो पहिलो समफलता मिलेको र यसले घटनालाई थप सहज बनाएको रामेछाप प्रहरीको भनाई छ । 

 

गत चैत्र १३ गते साँझ ७ : ३० बजेको समयमा बेतालीको लिसेखानी स्थित ८४ वर्षीय शम्सेर बहादुर थापामगरलाई अपरिचित व्यक्तिले टाउकोमा खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । थापामगरलाई उद्धार गरी उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको थियो । 

 

सो घटनामा खुकुरी प्रहार गर्नेहरू फरार रहेको दाबी गरिएको थियो । घटना गम्भीर प्रकृतिको भएको कारण अनुसन्धानको लागि जिल्लाले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) को टोलीलाई डाकेर तालिम प्राप्त कुकुरको समेत परिचालन गरी अनुसन्धान गरेको थियो । 

 

सो अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा (सिबिआई) सहितको प्रहरी टोलीले सोही ठाउँकी ४५ वर्षीय रामपियारी खड्का, ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर र ४५ वर्षीय ‘अनिता’ भनिने मनोमाया थापामगरलाई नियन्त्रण लिएको थियो ।

 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार सो अनुसन्धान जारी रहँदा उक्त घट्नामा प्रयोग भएको धारिलो हतियार खुकुरी भेटिएको र घटनामा संलग्न भएको आशङ्का गरिएकोहरुको नजिक–नजिक पुगिएको सूचना अधिकारी ढकालले बताए । 

 

उनले रामेछाप टाइम्ससंग भने ‘हामी अनुसन्धानकै क्रममा छौँ । यो पहिलो सफलता मिलेको छ । यसले अपराधी पत्ता लगाउन थप सहज भएको छ ।’

 

गोकुलगंगामा पछिल्लो समय मानिसको ज्यानै लिने प्रकृतिका घटना घटना थालेका छन् । गत फागुन ७ गते पनि त्यहाँ एक वृद्ध महिलालाई जिउँदै आगो लगाएर जलाइएको अवस्थामा भेटिएको थियो । त्यसको एक महिना पनि बित्न नपाउँदै थापामगरमाथि टाउकोमा खुकुरी प्रहार भएको हो ।