६६ औँ राष्ट्रिय सहकारी दिवसमा मन्थलीमा २७ जना गरे रक्तदान

| चैत २०, २०७९ सोमबार

A A A
A A A

२० चैत, रामेछाप । ६६ औँ सहकारी दिवसको अवसरमा मन्थलीमा दुई दर्जन बढीले रक्तदान गरेका छन् । रामेछाप जिल्ला सहकारी संघले आयोजना दिवसको अवसरमा गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको संघका सचिव नवीन केसीले रामेछाप टाइम्सलाई जानकारी दिए ।‘२७ जनाले रक्तदान गर्नु भएको छ । हामी पनि केही नयाँ कार्यक्रम गर्ने योजनामा थियौँ । छोटो तयारीमा सकेको गर्ने प्रयास गर्‍यौँ, आगामी दिनमा अझ सुधार्दै जान्छौँ ।’

 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थलीको प्राविधिक सहयोगमा संघले आयोजना गरेको खुल्ला सामूहिक दौड प्रतियोगिताको कार्यक्रम स्थल जिल्ला समन्वय समितिको प्रागंणमै रक्तदान पनि गरिएको हो । कार्यक्रममा उपस्थित सहकारी अभियन्ता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले रगत दिएका हुन् । 

 

जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा जटिल बाहेकका ‘अप्रेसन’, प्रसूति सेवा लगायतका सेवा विस्तार भएपछि यहाँ रगतको खपत बढेको रेडक्रस शाखा मन्थलीले जनाएको छ । विगतका वर्षहरूमा यहाँबाट खपत नभएको रगत निश्चित अवधिपछि सिन्धुली, धुलिखेल लगायतका अस्पतालमा पठाइने गरिन्थ्यो । 

 

संघले राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लामा रक्तदान सहित सचेतना मूलक र्याली, सामूहिक दौड, दीपप्रज्वलन लगायतका  कार्यक्रम गरी मनाएको छ ।