सुनारपानी स्थित थानापती महादेव मन्दिर पुनः निर्माण अन्तिम चरणमा, यस्तो छ किम्बदन्ती ?

महादेवको स्वरूप रहेको पत्ता लागेपछि उक्त ठाउँमा गएर उत्खनन गर्दा गाईको खुर, त्रिशूल, दियोको पूर्ण आकृति भएको ठुलो शिला स्तम्भ पाइएपछि दैनिक दूध चढाउने, पूजापाठ गर्न सुरु

| बैशाख १८, २०८० सोमबार

A A A
A A A

१८ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित मचबारीमा रहेको (स्थानीय भाषामा थानापती महादेव) मन्दिर पुनः निर्माण अन्तिम चरणमा पुगेको छ। ढुङ्गा र माटोले बनेको मन्दिर पुनः निर्माण गरिएको सकिन लागेको हो । 

 

२०७२ को विनाशकारी भूकम्प पश्चात् आर्थिक वर्ष २०७७÷७८ मा शिलान्यास गरेर पुनः निर्माण सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको चम्पेश्वर थानापती महादेव श्रेष्ठ समुदायका संयोजक तथा स्थानीय सरोकार सदस्य पूर्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिछाउने र पर्खाल लगाउने केही काम मात्रै बाँकी छ । 

 

अभिलेखालय पुरातत्त्व विभाग, नेपाल सरकारको झन्डै एक करोड २५ लाखको लागतमा मन्दिर पुनः निर्माण कार्य गरिएको हो । 

 

जिल्लाको प्रसिद्ध प्राचीन मन्दिरहरू मध्ये एक धार्मिक,सांस्कृतिक एवम् पुरातात्त्विक शिला स्तम्भ रहेको यस थानापती महादेव मन्दिर रामेछापको सदरमुकाम मन्थलीबाट ७ किलोमिटर दक्षिण पूर्वमा रहेको छ। 

 

श्रेष्ठले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरे बाँकी काम पनि छिट्टै सकिने बताए । मन्दिरमा  विगतमा भोग्दै आएको खानेपानीको समस्या पनि डिप बोरिङ मार्फत वडाले पानी पुर्‍याइएको तत्कालीन वडा अध्यक्ष रामबहादुर कार्कीले बताए । 

 

उनले मन्दिरमा नित्य पूजाका लागि पनि पुजारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी बताए , 

 

किम्बदन्ती 

हाल मन्दिर रहेको भन्दा माथि (स्थानीय भाषामा दमाई गाउँ) मुनि रहेको मचबारीका स्थानीय तत्कालीन कविराज (कबिरे) थापा, रिट्ठे थापा, दुब्ले थापाको गाई गोठ रहेको र उनीहरू सधैँ गाई गोठबाट दूध दोहेर घर आउँदा उक्त स्थानमा आइपुगेपछि ठेस लागेर त कहिले छचल्केर पोखिने क्रम निरन्तर  दोहोरिएपछि यही ठाउँमा आएपछि किन बारम्बार यस्तो हुन्छ ? यहाँ पक्कै पनि केही दैवी शक्ति छ भनी दाजुभाइ तथा स्थानीयसँग छलफल गरे ।

त्यस बखत हालको खत्री टोलमा बसोबास गर्ने स्वर्गीय महावीर थापाद्वारा धामी झाँक्री (तान्त्रिक विद्या) गरी हेर्दा उनमा जाग्रती आइ थानापती महादेवको स्वरूप रहेको पत्ता लागेपछि उक्त ठाउँमा गएर खोस्री हेर्दा (उत्खनन गर्दा) गाईको खुर, त्रिशूल, दियोको पूर्ण आकृति भएको ठुलो शिला स्तम्भ पाइएपछि दैनिक दूध चढाउने, पूजापाठ गर्ने प्रचलन सुरु गरिएको हो भन्ने स्थानीयहरूको भनाइ छ। 

 

१९९३ मा जन्मिएका स्थानीय भक्त बहादुर बस्नेत, ९३ वर्षका केशरबहादुर कार्की र ७७ वर्षका होमबहादुर श्रेष्ठको भनाइ अनुसार स्थानीयले पालेको गाई वस्तु चरनको लागि सधैँ जङ्गल लाने र ती मध्ये एउटा गाइले चरनबाट फर्केपछि साँझ (बेलुका) दूध नदिने भएछ ।

 

एक दिन चरनको लागि लगिएको सोही गाइले हाल मन्दिर रहेको ठाउँमा चर्दै पुगेर शिला स्तम्भ रहेको ठाउँमा आफै दूध झारिरहेको ग्वाला (गोठालो) ले देखेपछि भोलिपल्टबाट उक्त शिला स्तम्भमा दूध चढाउन थालेपछि गाईले पुनः दूध दिन थालेको र प्राकृतिक रूपमा उत्पत्ति भएको थानापती महादेवलाई वरिपरि डुङ्गाले गाह्रो लगाएर थान बनाइ पूजापाठ गर्ने चलन रहेको ।

 

महत्त्व र  विश्वास

यस थानापती महादेव मन्दिरमा, स्थानीय जनविश्वास, ज्येष्ठ नागरिकहरूको जनश्रुतिअनुसार, सन्तान नहुनेले भाकल गरेमा सन्तान हुने, पशु चौपायामा सन्तान वृद्धि हुने, अधुरा काम पूरा हुने, बालबालिकाको बोली नफुटे बोली फुट्ने जनविश्वास हाल सम्म पनि रहेको छ ।

 

भाकल पूरा भएपछि पूजापाठ गर्ने, अन्न, बालिको फल चढाउने, पशुको दाम्लो, दूध, दही चढाउने प्रचलन रहँदै आएको छ। मन्दिर स्थापना समयदेखि नै तीज, हरिबोधिनी एकादशी, बाला चतुर्दशी, शिवरात्रि जस्ता पर्वहरूमा विशेषरुपमा श्रद्धालु भक्तजनको पूजा गर्न भिड लाग्ने गर्दछ भने जात्रा तथा मेला लाग्ने परम्परा हालसम्म पनि कायमै रहेको छ।