प्रदेशका सचिव रिजालले भने ‘आवश्यकता भन्दा धेरै सहकारी हुँदा व्यवस्थापन तथा अनुगमनमा समस्या भयो’

| बैशाख ३१, २०८० आइतबार

A A A
A A A

३१ वैशाख, रामेछाप । बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजालले सहकारीहरू धेरै हुँदा व्यवस्थापन तथा अनुगमनमा समस्या भएको स्वीकार गर्दै अगामी दिनमा नयाँ तयारीकाले काम गर्ने तयारी सुरु भएको बताए । सहकारी संस्थाहरू अर्थतन्त्रको एउटा खम्बा भएको उल्लेख गर्दै सरकारले अङ्गीकार गरेको तीन खम्बे अर्थ नीतिमा यसको ठुलो योगदान रहेको चर्चा गरे । सचिव रिमालले यसबाट पनि सरकारले सहकारीलाई कति महत्त्व दिएको छ भन्ने कुरा बुझ्ने प्रस्ट्याए । 

 

सदरमुकाम मन्थलीमा बागमती प्रदेश विकास बोर्डको आयोजना तथा जिल्ला सहकारी सङ्घको समन्वयमा भएको एक दिने सहकारी अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव रिजालले ग्रामीण अर्थतन्त्रमा सहकारीको ठुलो योगदान रहेको दाबी गरेका हुन् । उनले आर्थिक गतिविधिका अतिरिक्त रोजगारी सिर्जना, उत्पादन र बजारीकरणमा सहकारी संस्थाहरू बढी केन्द्रित हुनु पर्नेमा जोड दिए ।

 

उनले सरकारले सहकारी संस्थालाई जति प्राथमिकतामा राख्नु पर्ने हो त्यति प्राथमिकता दिन नसकेको स्वीकार गरे । सचिव रिजालले सहकारी संस्थाको सङ्ख्या आवश्यकता भन्दा बढी भएकाले पनि व्यवस्थापन तथा अनुगमनमा समस्या भएको प्रस्ट्याए । अब जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय मार्फत सेवा प्रवाहका लागि गृहकार्य भइरहेको जनाए । उनले राम्रो सहकारीको समेत बदनाम गरेकाले अब खराब संस्थाहरूलाई कारबाहीका दायरामा ल्याउन मन्त्रालयले काम अगाडि बढाएको बताए । 

सो कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जगन्नाथ दाहालले जिल्लाका सहकारी संघ संस्थाहरूको अवस्था, चुनौती र अवसरबारे कार्यपत्र पेस गरेका थिए । 

 

कार्यक्रममा सहभागीहरूले सहकारी मन्त्रालय र बागमती प्रदेश सहकारी विकास बोर्ड तथा जिल्ला सहकारी संघ एवम् जिल्ला बचत तथा ऋण सहकारी सङ्घसँग सम्बन्धित आ–आफ्ना जिज्ञासा र गुनासाहरू राखेका थिए । 

 

कार्यक्रममा बोल्दै बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाले सहकारी संस्थाको विकासका लागि बागमती प्रदेश सहकारी जिल्लाका बोर्डले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउँदै सहकारी संघ संस्थाको सबलीकरणका लागि आगामी वर्ष बोर्डले विशेष  कार्यक्रम गर्ने आश्वासन दिए ।  

 

कार्यक्रममा जिल्लाका विभिन्न ८१ वटा सहकारी सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको जिल्ला सहकारी संघ रामेछापका सचिव नवीन केसीले जानकारी दिए ।