फलफूल, तरकारी सक्दो उत्पादन गर्नुहोस् बजारीकरण कृषि एम्बुलेन्स चलाएरै भए पनि नगरले गर्छ–नगर प्रमुख श्रेष्ठ

| जेठ १, २०८० सोमबार

A A A
A A A

१ जेठ, रामेछाप । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले कृषि उत्पादन बढाएमा कृषि एम्बुलेन्स चलाएरै भए पनि आफूहरू बजारीकरण गर्न तयार रहेको बताएका छन् । त्यसको लागि किसानहरूले कृषि उत्पादकत्व वृद्धि र नगरसँग समन्वय गर्नु पर्ने उनको भनाई छ ।

 

नगरपालिकाको सभा हलमा भएको सुन्तला जातका फलफूल उत्पादन वृद्धिको लागि तीन दिने तालिम उद्घाटन कार्यक्रमलाई समापन गर्दै प्रमुख श्रेष्ठले यस्तो बताएका हुन् । उनले नगरपालिकाले यहाँका किसानहरूले उत्पादन वृद्धि गर्न सकुन् भनेर लागि परेको स्मरण गर्दै ‘तपाईँहरू पनि लाग्नुहोस् । हामी पनि लाग्छौँ । फलेका कृषि उत्पादन निकासिको लागि कृषि एम्बुलेन्स चलान हामी तयार छौँ । तपाईँहरू पनि उत्पादन बढाउन लाग्नुहोस् ।’

 

कृषिमा आत्मनिर्भर बिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गर्दै प्रमुख श्रेष्ठले तरकारी, फलफूल जस्ता उत्पादन व्यावसायिक रूपमा गर्न आग्रह गरे । 

तालिममा सहभागीहरु

किसानले बजारीकरणको समस्या भएको गुनासो गर्ने गरेको स्मरण गर्दै उनले उत्पादन गरेर घर–टोल, बारीबाटै नगरले जिम्मेवारी लिएर बिक्री गर्नको लागि कृषि एम्बुलेन्स उपयुक्त हुने दाबी गरे । नगरका किसानले बिक्री भएन भनेर गुनासो गर्न नपर्ने जिकिर गर्दै प्रमुख श्रेष्ठले व्यावसायिक रूपमा उत्पादन गर्न सुझाए । उनले अनुदान, अनुचित फाइदा लिनको लागि मात्र खेती नगर्न समेत सचेत गराए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मन्थलीको आयोजनामा सुरु भएको तालिममा मन्थली र रामेछाप नगरपालिकाका किसानहरूको सहभागिता रहेको छ ।