नेपाल माझी उत्थान संघ केन्द्रीय अध्यक्षमा चिनी माया माझी, सचिवमा रामेछापका गोपाल
१७ जेठ, रामेछाप । नेपाल माझी उत्थान संघ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । विगत १२ वर्षदेखि विविध कारणले हुन नसकेको अधिवेशन यो पटक सम्पन्न भएको हो । नयाँ कार्यसमिति गठन गर्दा रामेछापका गोपाल माझी केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । उनी निवर्तमान वडा अध्यक्ष समेत हुन् ।
गत १४ गतेदेखि १६ गते सम्म चलेको अधिवेशनबाट संघको केन्द्रीय अध्यक्ष चिनी माया माझी निर्वाचित भएको रामेछापबाट अधिवेशनमा सहभागी बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा गोपाल माझी, उपाध्यक्ष कृष्ण माझी र महासचिवमा बबिन्द्रबराल माझी चयन भएका छन् । कोषाध्यक्ष सन्तबहादुर माझीले जिम्मेवारी पाउँदा सह–कोषाध्यक्षमा सृजना माझी चयन भएकी छन् ।
सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवन स्थित नेपाल माझी उत्थान संघको सङ्ग्रहालयमा तीन दिन भएको चौथौँ अधिवेशनबाट रामेछाप मन्थलीका गोपाल माझी सचिव बनेका छन् ।
निर्वाचित समितिका पदाधिकारीको ३ वर्षे कार्यकाल हुने छ ।