उमाकुण्ड गाउँपालिकाले ७ वटै वडामा गर्‍यो बजार अनुगमन, १ लाख २ हजार ७ सय जरिवाना असुल्यो

| जेठ ३२, २०८० बिहिबार

A A A
A A A

३२ जेठ, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीबाट लामो दुरीमा रहेको उमाकुण्ड गाउँपालिकाले त्यहाँको बजारलाई स्वस्थ र उपभोक्ता मैत्री बनाउन आफैले अनुगमन थालेको छ । जिल्लामा घरेलु, जिल्ला प्रशासन, करदाता सेवा कार्यालय लगायतले बजार अनुगमन गर्दै आएका छन् । तर, उमाकुण्डमा यी निकायबाट अनुगमनको लागि बिरलै पुग्ने गरेका छन् । यसै अवस्थालाई मध्यनजर गर्दै पालिका आफैले कडाइका साथ बजार अनुगमन थालेको छ । 

 

पालिकाको ७ वटै वडामा सञ्चालनमा रहेका होटेल तथा विभिन्न पसलहरूको स्थलगत अनुगमन गरेको छ । पालिकाकी उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सावित्री सुनुवारको नेतृत्वमा पालिका भित्रका सबै वडामा सञ्चालित होटेल तथा विभिन्न किसिमका पसलहरूको अनुगमन गरेको हो । 

 

यही जेठ २१ गते वडा नं ७ भुजीको बजार क्षेत्रबाट सुरु गरेर २६ गते वडा नं १ गुम्देलमा रहेका पसलहरूको अनुगमन गरेर सकाएको पालिकाले जनाएको हो । यसरी एक हप्ता लगाएर गरेको स्थलगत अनुगमनमा कूल १६५ होटेल तथा विभिन्न किसिमको पसल गरेको जनाएको हो । 

 

अनुगमनको क्रममा विभिन्न खाद्यान्न पसलबाट म्याद गुज्रिएका अखाद्य खानेकुरा बरामद गरी नष्ट गरेको छ । भने कस्मेटिक तथा हार्डवेयर र औषधि पसलबाट बरामद गरेको विभिन्न म्याद गुज्रिएको सामान समेत खाल्डो खनेर नष्ट गरेको छ । 

 

म्याद गुज्रिएको अखाद्य वस्तु बिक्री गर्ने, मूल्य सूची तथा बोर्ड नराख्ने र नियम विपरितका कार्य र कारोबारी गर्ने व्यवसायीलाई जरिवाना पनि गरेको छ । जसबाट रु १ लाख २ हजार ७ सय राजश्व समेत संकलन गरेको गाउँपालिकाको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 

 

बजार अनुगमन गर्दै पालिकाकी उपाध्यक्ष सुनुवारले उपभोक्ता सम्बन्धी कानुन उपभोक्ता मैत्री भएता पनि उपभोक्ताहरू ठगिरहेको गुनासो तीव्र रूपमा बढिरहेको बताइन् । उनले आगामी दिनमा पनि उपभोक्ताको स्वास्थ्य र उपभोक्ता अधिकारलाई मध्यनजर गरी बजार अनुगमन कार्यलाई निरन्तरता दिने बताइन् ।