दोस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम, रामेछापको खाँडादेवी दोस्रो

| असार ३, २०८० आइतबार

डुङ्गा दौड प्रतियोगिता उद्घाटनमा अतिथिहरु
A A A
A A A

३ असार, रामेछाप । दोस्रो राष्ट्रिय लाऊ (डुङ्गा) प्रतियोगिताको मा सुनसरी ‘के’ प्रथम भएको छ । मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी नदीमा आयोजना गरिएको दोस्रो डुङ्गा प्रतियोगिताको डबलतर्फको दौड प्रतियोगितामा सुनसरीले ‘के’ ले २ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै प्रथम पुरस्कार जितेको हो । खेल असार १ गते भएको हो । यो खेल गत वर्षदेखि निरन्तर रुपमा दोस्रो वर्षमा पनि खेलाइएको छ । 

 

सोही डबलतर्फ को खेलमा रामेछाप कै खाँडादेवी गाउँपालिका–१ कोथबेले २ मिनेट ३६ सेकेण्डमा दुरी पूरा गरी द्वितीय पुरस्कार प्राप्त गरेको छ भने सुनसरी ‘बि’ ले २ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

 

त्यसै गरी सिङ्गलतर्फ सुनसरी ‘ए’ ले ३ मिनेट १४ सेकेण्डमा दुरी पूरा गरी प्रथम भएको छ । सिङ्गलतर्फ नै सुनसरी ‘सी’ ३ मिनेट ३२ सेकेण्डमा दुरी पूरा गरी द्वितीय र रामेछापको त्रिवेणी क्लबले ३ मिनेट ३३ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तृतीय पुरस्कार प्राप्त गर्न सफल भएका छन् । उक्त प्रतियोगितामा डबलतर्फ ४ जना र सिङ्गलतर्फ २ जनाको समूह रहेको थियो ।

डबलतर्फ प्रथम हुने समूहले ४० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार नगद र प्रमाण–पत्र हात पार्न सफल भएका छन् । त्यसै गरी सिङ्गलतर्फ प्रथम हुनेले ३० हजार,द्वितीयले २० हजार र तृतीय हुनेले १० हजार नगद र प्रमाण–पत्र हात पार्न सफल भएका छन् । राष्ट्रिय खेलकुद परिषद् र मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल माझी उत्थान संघ रामेछाप र न्यु स्टार युवा क्लब मन्थली–६ कुरौनीले उक्त प्रतियोगिताको आयोजना गरेको थियो ।

 

प्रतियोगितामा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, सर्लाही र सुनसरी जिल्लाका गरी डबलतर्फ ३५ र सिङ्गलतर्फ ३१ गरी ६६ टिम खेलाडीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गरेका थिए ।