रामेछाप सहित देशभरका स्थानीय तहले बजेट ल्याउँदै

| असार १०, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

१० असार, रामेछाप । आज देशका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दै छन्।  आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७५३ स्थानीय तहले बजेट सार्वजनिक गर्न लागेका हुन्।  

 

७५३ पालिका मध्ये केही स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय तहको आगामी आव २०८०÷८१ का लागि शनिवारसम्म १२ स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।

 

अब ७४१ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। 

 

चालु आव २०७९÷८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् । मन्त्रालयको वेबसाइटमा उल्लेखित सूचना अनुसार चालु आवमा अहिलेसम्म २ पालिकाले बजेट ल्याएको जानकारी प्रविष्ट गरेका छैनन् । 

 

पछिल्ला वर्षमा धेरै स्थानीय तहले निर्धारित समय भन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेनन्। यसले गर्दा वित्तीय अनुशासनमा प्रश्न उठिरहेको छ भने बजेट ढिला आउँदा खर्चमा समेत प्रभाव पर्ने गरेको छ। 

 

रामेछापमा उमाकुण्ड गाउँपालिकाले गत शुक्रवारै बजेट सार्वजनिक गरेर आजदेखि बजेट र नीति  तथा कार्यक्रममाथि छलफल सुरु गरेको छ । 

 

त्यस्तै खाँडादेवी गाउँपालिकाले शनिवार १३ औँ गाउँ सभा मार्फत नीति र बजेट सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका, पुरानो सदरमुकाम स्थित रामेछाप नगरपालिकाले आज बजेट ल्याउँदै छन् । 

 

त्यस्तै गोकुलगंगा, लिखु तामाकोशी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाले पनि आज आइतबार बजेट सार्वजनिक गर्दै छन् । बजेट सार्वजनिक गर्ने रामेछापका सबै स्थानीय तहहरूले (आज) आइतबार अत्यावश्यक सेवा बाहेक सबै सेवा स्थगित गरेको जानकारी गराएका छन् ।