मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ४ करोड बढीको बजेट, केही नयाँ र पुरानालाई निरन्तर दिइएको नीति तथा कार्यक्रम यस्तो ?

| असार ११, २०८० सोमबार

A A A
A A A

११ असार, रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १ अर्ब ४ करोड बढीको बजेट ल्याएको छ । यो बजेट चालु वर्षको भन्दा घटाएर ल्याएको हो ।

 

 

आइतबार नगर १३ औँ सभामा उपप्रमुख ईश्वरी बस्नेतले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । विनियोजन गरिएको बजेटमा चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार छुटाइएको उल्लेख छ ।

पुँजीगत तर्फ ५८ करोड ६१ लाख रुपैयाँ रहेको उपाध्यक्ष बस्नेतले बताइन् ।  नगर प्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ, १४ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा उपप्रमुख बस्नेतले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेकी हुन् । 

 

त्यस्तै नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा केही नयाँ र अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ । 

जसमा ‘एक वडा एक उत्पादन’ व्यावसायिक खेतीलाई प्रोत्साहन, दूधमा दिइँदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानलाई बढाएर २ रुपैयाँ ५० पैसा पुर्‍याउने, सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था, सबै वडामा गुणस्तरीय सेवा प्रवाह गर्ने उल्लेख छ । 

 

त्यस्तै आधारभूत तहका विद्यालय उमेर ५–१२ वर्षका सम्पूर्ण बालबालिकालाई विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने वातावरण सिर्जना गरी भर्नाको सुनिश्चित गर्ने, छोरीको जन्मलाई प्रोत्साहित गर्न छोरी बचत प्रोत्साहन, विद्यालयमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन नीतिलाई प्रभावकारी बनाउने, कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सबै तस्बिर स्रोत मन्थली नगरपालिका फेस्बुक ।

 

बजेटको पूर्णपाठ हेर्नुहोस्