नेपाल लघु वित्त बैकर्स संघ रामेछापले शान्ति सुरक्षाको माग गर्दै ‘सिडिओ’ मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गर्‍यो

| असार ११, २०८० सोमबार

A A A
A A A

११ असार, रामेछाप । नेपाल लघु वित्त बैकर्स संघ रामेछापले शान्ति सुरक्षाको पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापको ध्यानाकर्षण गरेका छन् । केही दिन यता जिल्ला स्थित लघु वित्तमाथि आक्रमण हुन थालेको भन्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ/ ‘सिडिओ’) अनिता निरौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै शान्ति सुरक्षाको माग गरेको हो । सोमबार उनीहरूले कार्यालयमै पुगेर (प्रजिअ/‘सिडिओ’ ) निरौलालाई पत्र बुझाएका हुन् । 

 

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूले विगत ३० वर्ष देखि नेपालको गरिबी न्यूनीकरण, वित्तीय पहुँच अभिवृद्धि, महिला सशक्तीकरणको लागि निरन्तर क्रियाशील हुँदै आएको स्मरण गराउँदै केही समय देखि केही व्यक्ति तथा राजनीतिक समूहले “लघु वित्तीय विरुद्धको संघर्ष समिति नामको अवैधानिक समूह खडा गरी सुनियोजित तवरले अवरोध पुर्‍याउने काम गरेको जनाएको छ । 

 

उनले (प्रजिअ) निरौलालाई बुझाएको पत्रमा ‘कपोल कल्पित आक्षेप लगाई अनर्गल प्रचारप्रसार गर्ने, वित्तीय संस्थाको  अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरूलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरू माथि हातपात गर्ने, रकम, कलम लुटपाट गर्ने, वित्तीय सेवा उपयोग गर्न बाधा पुर्‍याई लघुवित्त कार्यक्रमलाई नै धराशायी गराउने जस्ता कानुन विपरीतका गतिविधि भइरहेको छ’ पत्रमा उल्लेख छ ।

 

प्रजिअ मार्फत बुझाइएको यो पत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षाको माग गरिएको छ । 

 

साथै लघु वित्तले ‘गैर कानुनी रूपमा लघुवित्त वित्तीय संस्थाका सदस्यहरूबाट रु ५ सय देखि रु २ हजारसम्मका दरले शुल्क उठाई करडौं रुपैयाँ दुरुपयोग गरेको जानकारीमा आएको भनेको छ । उनीहरूलाई कानुनी दायतामा ल्याएर कारबाही गर्न र शान्ति सुरक्षाको माग गरेका हुन् । 


ध्यानाकर्षण पत्र हेर्नुहोस्