जिपी फाउण्डेशन रामेछापको सामूहिक दही चिउरा, नेताहरूले भने ‘राजनीतिमा हिलो छ्याप्ने काम बन्द गर्नु पर्छ’

| असार १५, २०८० शुक्रबार

A A A
A A A

१५ असार, रामेछाप । गिरिजा प्रसाद कोइराला फाउन्डेशन (जिपी फाउण्डेशन) रामेछापले असार १५, दही चिउरा खाने दिन सामूहिक दही चिउरा खाएर औपचारिक रूपमा मनाएको छ । साथै असार १५ र दही चिउराको चर्चा परिचर्चा गरिएको छ । 

 

सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पूर्व पार्टी उपसभापति एवं महाधिवेशन प्रतिनिधि धुब्रहरि ढुङ्गेलले असार १५ किसानको दिन भएको बताए । 

 

उनले आजको दिन कृषि कर्म गर्ने सबै किसानको लागि गौरवको दिन भएको उल्लेख गर्दै सरकारले किसान र उसका कर्मलाई बुझ्ने वातावरण निर्माण गर्न सक्नु पर्नेमा जोड् दिए । उनले भने ‘आजको दिन किसानको दिन हो । बन्द कोठामा भन्दा हिलो खेतबारीमा रमाउनु पर्छ । अनुदान वास्तविक किसानलाई दिएर कृषि उत्पादन बढाउनु सक्नु पर्छ ।’

कृषि उत्पादन गर्न बिपी कोइरालाले त्यति बेला खेलेको भूमिकाको चर्चा गर्दै आज पनि सबैले कृषि प्रधान देशको महत्त्व बुझ्नु पर्नेमा उनको भनाई छ । 

 

त्यस्तै नेपाली काँग्रेस पार्टी उपसभापति लेखबहादुर कार्कीले जिपी फाउन्डेसनले विगतका वर्षदेखि नै असार १५ लाई औपचारिक रूपमा मनाउने निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षमा यो कार्यक्रम खेतबारीमा हिलो र धानसँगै मनाउन आग्रह गरे । 

 

उनले असार १५ मुठी रोपेर मुरी उब्जाउने दिन भएको स्मरण गर्दै कृषि कर्म हामी सबैले गर्नु पर्छ भने । तर, अहिले सबैले त्यो गर्न नसकी रहेको बताए । 

 

 

कार्यक्रम समापन गर्दै फाउन्डेसनका अध्यक्ष दीपक खड्काले असार १५, दही चिउरा खाने दिन विगत देखिनै मनाउँदै आएको उल्लेख गर्दै सामूहिक जमघट गरिएको बताए । उनले असार १५ हिलो छ्यापेर, धान रोपर र दही खाएर मनाउनु हाम्रो परम्परा रहेको बताए । 

 

यसलाई निरन्तरता दिन फाउन्डेसनले भूमिका खेलेको सुनाए । नेपाली काँग्रेस जिल्ला पार्टी सचिव समेत रहेका खड्काले राजनीतिमा हिलो छ्याप्ने र छर्कने परि पार्टी सबैबाट सधैँको लागि काम बन्द गरिनु पर्नेमा जोड् दिए । 

 

 

फाउण्डेसका पदाधिकारी, सदस्य, नेपाली काँग्रेसका नेता कार्यकर्ता, नेपाल विद्यार्थी संघ, पत्रकार, सञ्चारकर्मीको उपस्थितिमा सामूहिक दही चिउरा खाइएको थियो ।