रामेछाप तिल्पुङ्का पाण्डेले गरे युरोपको सबै भन्दा अग्लो हिमालको सफल आरोहण

| असार १५, २०८० शुक्रबार

A A A
A A A

१५ असार, रामेछाप । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सबै भन्दा अग्लो हिमालको सफलता पूर्वक आरोहण गरेका छन्। जुन २८ र २९ तारिखमा पाण्डेले रुस स्थित एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेको हुन्।

 

लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ निवासी पाण्डेले यसअगाडि विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोही हुन् । 

 

सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्यान्ड पिक हिमालको समेत आरोहण गरिसकेका आरोहण गरी पाण्डे सेभेन समिट पूरा गरेर नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका छन् । उनी जुन २१ तारिखमा रुसतर्फ प्रस्थान गरेका थिए । 

चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए । जुन २९ को बिहान ९ः०० बजे पाण्डेले एलब्रुस इस्टको सफल आरोहण गरेको तस्बिर सार्वजनिक गर्दै बताएका हुन् । पाण्डेले एलब्रुसको शिखरमा नेपाली झन्डा सहित चुचुरोमा पुगेको तस्बिर फेसबुकमा शेयर गरेका छन् ।  के हो सेभेन समिट ?

हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरूको आरोहणलाई विशेष मानिन्छ, जसलाई सेभेन समिट भनिन्छ । पर्वतारोहणमा रहेका हजारौँ आरोही मध्येमा निकै कम आरोहीले मात्रै यो सफलता गरेका छन् । युरोपको हिमाल आरोहण पश्चात् यसै अभियानअन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन् ।

 

सन् २०१६ देखि आरोहण सुरु गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरे पश्चात् नियमित हिमाल चढिरहेका छन् । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए ।

 

नेपाल स्काउटका सदस्यसमेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाममा रहेको बेडेन पावेल स्काउट पिक दुई पटक आरोहण गरिसकेका छन् । विदेशी स्काउटहरूलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल रहेका छन् । 

तस्बिर स्रोत पाण्डेको फेस्बुक ।