भैसेश्वर सामुदायिक खानेपानी समितिले ११ हजार लिटर सम्म पानी निःशुल्क खुवाउँदै

| असार १७, २०८० आइतबार

नवनिर्मित खानेपानीको भवन
A A A
A A A

१७ असार, रामेछाप । भैसेश्वर सामुदायिक खानेपानी तथा सरसफाइ समितिले ११ हजार लिटर सम्म पानी निःशुल्क खुवाउने भएको छ । यो खानेपानी आयोजनाले एक नमुना आयोजनाको रूपमा काम गरेको भन्दै सरोकारवालाहरूले प्रशंसा गरेका छन् । 

 

मन्थली नगरपालिका वडा नं १ स्थित सो सामुदायिक खानेपानी कूल १९१ घर धुरीले प्रयोग गर्दै आएका छन् । ६ कोठे पक्की भवन समेत निर्माण सम्पन्न गरी संचालनमा ल्याउन सफल यो खानेपानी समितिले मासिक न्यूनतम ११ हजार लिटर सम्म पानी खपत गर्ने उपभोक्तालाई एक रुपैयाँ पनि शुल्क नलिने कोषाध्यक्ष सिताराम कार्कीले बताए । ‘११ हजार लिटर भन्दा माथि प्रयोग गर्नेलाई निश्चित रकम लिन्छौँ । त्यो भन्दा मुनी निःशुल्क ।’

 

कार्कीले आफूहरूले स्वच्छ खानेपानी, गुणस्तरीय काम र पारदर्शी कारोबार गर्दै आएको सुनाए । उनले आगामी वर्षबाट खपत हुने पानीको दायर थप गर्दै जाने योजना रहेको सुनाए । 

 

आगामी दिनमा निःशूल्क खपत गर्ने पानीको मात्र  बढाउने योजना ।
स्थानीयहरु हर्षित 

 

गत शुक्रवार समितिको आफ्नै पक्की भवन उद्घाटन गरिएको हो । समितिको र स्थानीयहरूको अथक पहलमा यो भवन निर्माण गर्न सकेको अध्यक्ष टीका राम श्रेष्ठ बताए । आफ्ना उपभोक्तालाई स्वच्छ, सफा र निःशुल्क पानी खुवाउने अभियानमा आफूहरू लागेको अध्यक्ष श्रेष्ठले बताए । 

 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागमती प्रदेशको र समितिको सक्रियतामा झन्डै १ करोड रुपैयाँको लागतमा बनेको भवन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गरेका हुन् । 

 

आफ्नै भवन निर्माण गर्न सफल यो समितिसँग कूल ४८ लाख ८८ हजार ८३१ रुपैयाँको अचल कोष रहेको कोषाध्यक्ष कार्कीले जनाए । उनले वार्षिक सन्तुलन परीक्षण १ करोड ६४ लाख ४३ हजार ३ सय ८७ रुपैयाँ रहेको छ ।  निःशूल्क पानी प्रयोग गर्न पाएपछि स्थानीयहरु हर्षित भएका छन् । 

 

तामाकोशी नदीको पानी लिफ्ट मार्फत तानेर वितरण हुँदै आएको  हो ।