नेपाल सुनचाँदी कला व्यवसायी संघका जिल्ला अध्यक्ष एवं सुनचाँदी व्यवसायी गहतराजको निधन

| असार २१, २०८० बिहिबार

A A A
A A A

२१ असार, रामेछाप । नेपाल सुनचाँदी कल व्यवसायी संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष एवं लामो समयदेखि सुनचाँदी व्यवसाय गर्दै आएका व्यवसायी कृष्ण गहतराजको दुःखद निधन भएको छ । 

 

जिल्ला सदरमुकाम मन्थली स्थित उनकै निवासमा बिहीबार बिहान अन्दाजी ८ : ३० बजेको समयमा छातीमा दुखेको बताएपछि तत्काल अस्पताल लागिएको थियो । उनलाई तत्कालै मन्थली स्थित तामाकोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ डाक्टरले गहतराजको निधन भएको बताएका हुन् । डाक्टरहरूका अनुसार व्यवसायी गहतराजको हृदय घातका कारण निधन भएको हो ।  

 

उहाँ बिहान ब्याड्मिन्टन खेल्न जानु भएको रहेछ । खेलेर फर्किएपछि छाती दुखेको बताउनु भयो । लगत्तै अस्पताल लैजान मोटरसाइकल चढ्दा मोटरसाइकलबाट ढल्नु भयो । त्यसपछि अटोमा हालेर मन्थली अस्पताल पुर्‍याएपछि डाक्टरले नरहेको बताए पारिवारिक स्रोतले रामेछाप टाइम्सलाई भन्यो । 

 

पुर्खौली घर काठमाडौँमा रहे पनि उनी दुई दशकदेखि मन्थलीमै आफ्नै निवासमा श्रीकृष्ण सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । भर्खरै नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय सदस्य समेत बनेका उनले पछिल्लो समय काठमाडौँमा पनि घर बनाएर बस्दै आएका थिए । 

 

उनको शवलाई परिवारका सदस्य काठमाडौंमा भएको कारण काठमाडौं नै लैजाने तयारी भइरहेको छ । 

 

बुधवार मात्रै काठमाडौँबाट मन्थली घरमा आएका उनलाई एक्कसी हर्टट्याक भएको बुझिएको छ । रामेछाप उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनमा उम्मेदवार समेत बनेका गहतराज जिल्लाका पुराना व्यवसायी हुन् । उनको निधनले जिल्लाका व्यापार व्यवसायी, बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल सहित सदरमुकाम मन्थली बजार शोकमा डुबेको छ ।