नेपाल शिक्षक महासंघ रामेछापलाई राजनीतिक भागबण्डाको आधारमा पूर्णता, अध्यक्षले आफू निकट व्यक्तिहरुलाई मनोमानी ढङ्गाले समितिमा राखेको भन्दै नेपाल शिक्षक संघले स्वीकार गर्ने

| असार २२, २०८० शुक्रबार

A A A
A A A

२२ असार, रामेछाप । नेपाल शिक्षक महासंघ रामेछापलाई राजनीतिक भागबन्डाको आधारमा पूर्णता दिएको छ । सबै क्षेत्रबाट शान्ति क्षेत्र भनिएको विद्यालयमा बालबालिकालाई पठनपाठन गर्ने शिक्षकहरूको यो समितिमा राजनीति भागबन्डा मिलाएर समितिलाई पूर्णता दिएका हुन् । 

 

गत बुधवार जिल्ला सदरमुकाम मन्थलीमा भएको दोस्रो जिल्ला अधिवेशनले प्रमुख तीन दललाई पदाधिकारी सहित ५ दलको सहभागितामा महासंघको भागबन्डा मिलेको नेपाल शिक्षक सङ्गठन मन्थली नगर समितिका अध्यक्ष भीम नेपालीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

जसअनुसार (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका शंकर प्रसाद ढुङ्गेललाई अध्यक्ष, काँग्रेस निकट नेपाल शिक्षक संघका शिक्षक  रवीन्द्र अधिकारीलाई सचिव र सह–अध्यक्ष मोतीलाल तामाङलाई राजनीतिक भागबन्डा मिलाइएको अध्यक्ष नेपालीले  जानकारी दिए ।

 

त्यस्तै उनका अनुसार माओवादी केन्द्र निकट नेपाल शिक्षक संघ एकीकृत अखिल नेपाल शिक्षक संगठनको तर्फबाट महासंघको उपाध्यक्षमा दलबहादुर बल चयन भएका छन् । 

 

भने, यो अधिवेशनमा विप्लव निकट अखिल नेपाल शिक्षक सङ्गठन (क्रान्तिकारी) रामेछापले समेत भाग लिएको छ । उसले पनि पदाधिकारी एक लिएको छ । 

 

महासंघका जिल्ला अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा केन्द्रीय सहजकर्ता एवं निर्वाचन समितिका संयोजक, प्रमुख अतिथि समेत रहेका पुरुषोत्तम पहाडी, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, (एनएनटिएका) रामेछापका पूर्व अध्यक्ष तथा पूर्व वरिष्ठ प्र.अ पवनराज पौडेल, (एनटिए) का पूर्व केन्द्रीय सदस्य तथा पूर्व प्र‍.अ‍. गुञ्जबहादुर श्रेष्ठ, (एनटिए) रामेछापका पूर्व अध्यक्ष एवम् पूर्व प्र‍‍.अ. लक्ष्मणकुमार घिमिरे, (एनएनटिएका) रासस सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष निरबिक्रम कार्की, (युएएनटिएका) का रा‍.स.सदस्य सोमप्रसाद भट्टराईको विशेष आतिथ्य तथा नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की र नेकपा एमाले रामेछापका उप–सचिव प्रकाश कार्की समेतको आतिथ्य भएको अधिवेशनले भागबन्डा लगाएर महासंघको समितिलाई पूर्णता दिन सकेको हो । 

 

पूर्ण राजनीतिक करण प्रभाव देखिएको उक्त जिल्ला कार्यसमितिमा पदाधिकारी सहित २२ सदस्यीय गठन गरिएको नेपालीले बताए । 

 

महासंघमा आबद्ध संस्थाका जिल्ला तथा स्थानीय समितिका पदाधिकारी र सदस्यहरूको समेत उपस्थिति रहेको उक्त समिति गठनकै अवसरमा जिल्ला स्थित ८ वटै पालिकाहरूको समितिलाई समेत भागबण्डकै आधारमा बाँडा फाँडा गरिएको पाइएको छ ।

 

आठ पालिका अध्यक्षमा कुन पार्टीबाट को-को ?

राजनीतिक भागबण्डको आधारमा बाँडफाँड गरिएको पालिका समितिमा मन्थली नगर समितिको अध्यक्षमा नेपाली काँग्रेसका कुशप्रसाद दाहाल, रामेछाप नगर समितिमा एमाले निकट डिल्लीश्वर बस्नेत, उमाकुण्ड गाउँ समितिमा एमाले निकट प्रदीपकुमार सुनुवार, गोकुलगंगा गाउँ समिति नेपाली काँग्रेस निकट रामप्रसाद घिमिरे, लिखु तामाकोशी गाउँ समिति एमाले निकट केवलबहादुर तिमिल्सिना, खाँडादेवी गाउँ समितिमा काँग्रेस निकट हरिनारायण श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । 

 

त्यस्तै सुनापति गाउँ समिति सुमन थिङ र दोरम्बा शैलुङ गाउँ समिति प्रेमबहादुर थापा मगरको दुवै माओवादी केन्द्र निकट अध्यक्षता बनेका छन् । उनीहरू निर्विरोध चयन भएको विधिवत् रूपमा घोषणा गरिएको थियो ।  

 

मुख्य तीन दल सहित ५ दलले राजनीति भागबन्डा मिलाउँदा अन्य साना दलले केही पदाधिकारी सहित सदस्यमा चित्त बुझाएका छन् । 

 

यसरी नगर र गाउँ समिति गठन गर्दा त्यहाँ सक्रिय रहेका समितिलाई कुनै छलफल नगरी नगर र गाउँ समितिहरूले भने उक्त समिति अवैधानिक रहेको भन्दै आपत्ति जनाएका छन् ।

 

मन्थली नगर शिक्षक महासंघ गठन हुँदै गर्दा नेपाल शिक्षक संघको तर्फबाट क– कसलाई सहभागी पठाउने भन्ने विषयमा नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रामकृष्ण श्रेष्ठले मन्थली नगर समितिसँग कुनै छलफल नगरी तथा छलफल प्रक्रियामा नगर समितिलाई सहभागी नगराई, नगर समितिले गरेको निर्णयलाई समेत व्यस्तता गरी र नियमपूर्वक जिल्ला कार्य समितिको बैठक समेत नराखी आफू अनुकूलका व्यक्तिहरूलाई मनोमानी ढङ्गबाट सिफारिस गरी मनोनीत गरिएको भन्दै नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । 

 

उनले उक्त निर्णय सच्याउन र आगामी दिनमा जिल्ला कार्य समितिलाई नीति, विधि र प्रजातान्त्रिक पद्धति अनुसार अघि बढ्न समेत माग गरेको छ । ‘हाम्रो अनुरोधलाई व्यवस्था गरी मनोमानी ढङ्गबाट गरेको निर्णयलाई नसच्याएमा अध्यक्षको निर्णय र निर्देशनलाई नगर समिति स्वीकार र पालना गर्न नसकिने ब्यहोरा समेत यस विज्ञप्ति मार्फत जानकारी गराउँदछौ, विज्ञप्तिमा भनिएको छ ।