करिब ७ करोड लागतमा तयार भयो सुविधा सम्पन्न तीनलाल पार्क (फोटोफिचर)

| असार २७, २०८० बुधबार

A A A
A A A

२७ असार, रामेछाप । मन्थली नगरपालिकाको गौरवको आयोजना तीनलाल पार्क पटक–पटकको म्याद थपपछि पूरा भएको छ । निर्माण सकिँदा करिब ७ करोड लागतको यो आयोजनाले नगरको व्यापार, व्यवसायी र आन्तरिक पर्यटन तान्न मद्दत पुग्ने नगरले अपेक्षा गरेको छ । बासको लागि सुविधा सम्पन्न र आकर्षक भवनहरू बनेका छन् । सोही अनुसारको सेवा सुविधाको तयार भए यसले आन्तरिक र बाहिय पर्यटकको लागि कोसे ढुङ्गा साबित हुने नगरले अपेक्षा गरेको बुझिएको छ । 

 

नगरपालिकाको वडा नं १ हाटेचौरमा अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, २ तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, महिला पुरुष र बच्चासहितको ३ वटा पौडी पोखरी (स्विमिङ पुल), ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह (क्याफटरिया भवन), टिकट घर तथा शौचालय र प्रवेशद्वारसहित पार्कको कम्पाउन्ड ४ वर्षपछि गत असार २३ गते निर्माण सम्पन्न भएको नगरका इन्जिनियर डिल्ली अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘भोलि (बिहीबार) दिउँसो ३ बजे हस्तान्तरण गर्ने तयारी छ । निर्माण सकियो ।’  

 

उनका अनुसार पार्क निर्माण गरेको पांचपोखरी सुवेदी जे.भी. चावाहिल,काठमाण्डौंले नगरलाई भोलि चाबी हस्तान्तरण एवं मेयर लब श्रेष्ठबाट उद्घाटन हुने छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा स्वीकृत भएको सो पार्क निर्माणको काम २०७३ साल वैशाख ३१ गते १५ महिना (२०७८ साल भाद्र ७ गते) निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, तोकिएको समयमा काम आधा पनि नगरी निर्माण कम्पनीले अलपत्र पारेर छोडेपछि पुनः पटक–पटक म्याद थपेर काम सकेको हो । 

 

यो बिचमा कोरोना महामारी, मूल्य वृद्धि, आर्थिक मन्दी र निर्माण कम्पनीको ढिला सुस्ती लगायतले निर्माणमा ढिला सम्पन्न भएको इन्जिनियर अधिकारीले स्वीकार गरे । 

 

भ्याट र कन्ट्रीजन्सी सहित कुल १० करोड १७ लाख ८८ हजार २ सय ५ रुपैयाँ ४८ पैसा लागत अनुमान गरिएको उक्त नगर गौरवको आयोजनाको लागि नगरले १७ रोपनी जग्गा (८७४९ वर्ग मिटर) क्षेत्रफलमा पांचपोखरी सुवेदी जे.भीलाई ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँ २४ पैसामा ठेक्का दिएको थियो । 

 

 

समयमा निर्माण गर्न नसकेको भनेर निकै आलोचना समेत खेपेको यो आयोजनाले अन्तिम ६ करोड ८६ लाख २१ हजार ६ सय ८७ रुपैयाँ १३ पैसा भुक्तानी गरेको इन्जिनियर अधिकारीले जानकारी दिए । 

 

तस्बिरहरु हेर्नुहोस्