यी हुन् रामेछापका उच्च पर्यटकीय सम्भावना बोकेका स्थानहरू (फोटोफिचर)
रामेछाप जिल्ला पर्यटकीय उच्च सम्भावना बोकेको जिल्ला हो । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा तथा विभिन्न ऐतिहासिक कथा गाथा बोकेको जिल्ला रहेको हुँदा पनि यो जिल्ला समृद्ध पर्यटकीय उच्च सम्भावना बोकेको जिल्लाको रूपमा लिन सकिन्छ । संघीयतामा गएपछि ८ स्थानीय तहमा विभाजित रामेछापलाई नियाल्ने हो भने उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा जट्टा पोखरी, पाँच पोखरी, काउ बौद्ध, दूध पोखरी, भुतपोखरी, नुम्बुर हिमाल, नुम्बुर चिज सर्किट क्षेत्र, गरौरिशंकर संरक्षण क्षेत्रमा रेड्पाण्डा, ङेजिटार, चौँरी खर्क, पेपराङ छाँगो, गुम्देलको शिरमा रहेको तामा खानी, सेर्दिङ् चौर हुँदै देउराली र बाम्तिभण्डार बजार सहित गौरिशंकर हिमाल जस्ता दर्जनौँ स्थानहरूको दृश्य अवलोकन गर्न सकिने ताँबे डाँडा, खरानेटार प्रमुख पर्यटकीय उच्च सम्भावना बोकेका स्थानहरू हुन् । साथै, ठोसेको फलाम खानीलाई औद्योगिक कारखाना निर्माण गरी आयात र निर्यातको ढोका खोल्न सके रामेछाप जिल्लाको मात्र नभएर यस कार्यले देशकै विकासमा इँटा थप्छ ।

त्यस्तै लिखु तामाकोशी गाउँपालिकाको ऐतिहासिक धोबी बजार र वडा नं ५, नागदहमा पर्ने ऐतिहासिक ‘कार्य गाथा’ बोकेको गिदान चौर, खाँडादेवी गाउँपालिकाको ऐतिहासिक र जिल्लाकै चिनारी बनेको खाँडादेवी मन्दिर, गायत्री मन्त्र ‘ॐ’ शब्दको उत्पत्ति भएको स्थान सित्खाको मन्दिर, सुनापति गाउँपालिकाको सुनापति डाँडा (लहरेमाने), दोरम्बा शैलुङ अवस्थित महाभारत श्रृङ्खलाको एउटा अद्भुत भूमि ‘शैलुङ् डाँडा’ हुँदै अग्लेश्वर महादेव जस्ता स्थानहरू पर्यटकीय प्रवर्द्धन र प्रचारप्रसारको लागि उच्च सम्भावित ठाउँहरूमा पर्दछन् ।

त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरभित्र कै तामाकोशी नदी, चिसापानी गढी, तिल्केस्थान गढी, कोशी किनारमै अवस्थित ढिकुरे मन्दिर, वडा नं २ स्थित २ सय वर्ष भन्दा अगाडि निर्माण भएको ढुङ्गै ढुङ्गाले बनेको निल्कण्ठेश्वर मन्दिर, राणाहरूका विरुद्ध कविता मार्फत आवाज सशक्त पार्ने ‘मकै खेती’ नामक पुस्तकका लेखक कृष्णलाल अधिकारी जसलाई देशकै ‘प्रथम साहित्यिक सहिद’ का रूपमा चिनिँदै आएको छ। त्यो ठाउँलाई साहित्य र रचनाको थलोको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढाउन सकिन्छ ।


मन्थली नगरपालिकाकै वडा नं ११ र १३ को सीमा जहाँ भिरको टुप्पोमा अवस्थित गेल ढुङ्गा र गुफाभित्रको बौद्ध, भोटनागीको चिया बगान र देशकै अनौठो र ठुलो घ्याप्चेको पहिरो लगायतका स्थान प्रमुख पर्यटकीय सम्भावित स्थानहरू रहेको पाइन्छ ।

जिल्लाकै पुरानो सदरमुकाम समेत हरेको रामेछाप नगरपालिकालाई रामेछापको पहिचान बनाउँदै जुनार उत्पादनको हवको रूपमा विकास गरी आम्दानीको स्रोतसँगै आधुनिक कृषि औजार उपकरण राखी औद्योगिक कारखानाको रूपमा विकास गर्ने । तारा खसेपोखरी, भालु खोप डाँडालाई मन्थलीसँग सिधा सम्पर्क गराएर यहाँ गर्मी छल्ने माध्यम बनाउन सकिने प्रशस्त सम्भावना छ ।

आफ्नै नामबाट परिचित भँगेरीमा राजनीतिक आस्था र विश्वासको केन्द्रको रूपमा अगाडि बढाउन सकिने उच्च सम्भावना छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म स्थल भँगेरीमा कम्युनिष्ट राजनीतिको संग्रालय निर्माण गरी विश्वास र विचारको जग बसाल्न सकिने अनेकौँ पाटाहरू हामी माझ सलबलाई रहेका छन् ।
तस्बिरहरु रामेछापका पत्रकार सुमित श्रेष्ठ, रामचन्द्र बि क, राज महतारा, घनश्याम श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूह, रामेछाप शाखा र फोटो ग्राफर संगम अधिकारी, गजेन्द्र बस्नेत,












