रामेछापमा यसरी सुरु भयो ‘पहिलो सम्पदा पद यात्रा’ (फोटोफिचर)
०५ मंसिर, रामेछाप । रामेछाप नगरपालिकामा शनिवार देखि सम्भवतः जिल्लामै पहिलो पटक सम्पदा पद यात्रा’ सुरु भएको छ । यो पद यात्रा दुई दिन सम्म चल्ने आयोजक रामेछाप नगरपालिकाले जनाएको हो । यो पद यात्राले नगरलाई चिनाउन विशेष भूमिका खेल्ने आयोजकको विश्वास देखियो ।
नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ‘पद यात्रा मार्फत’ चिनाएर भित्र्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ‘पदयात्रा’ सुरु गरिएको नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले धारणा राखे । शनिवार पद यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले भने ‘हाम्रो नगर भित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्पदाहरूको अवलोकन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन यो यात्रा महत्त्वपूर्ण छ ।’
नगरको वडा नं ९, ल्याङल्याङ स्थित ऐतिहासिक महत्त्व बोकेको भिमशेन मन्दिर परिसरबाट पद यात्रा शुभारम्भ गर्दै बोलेका नगर प्रमुख न्यौपानेले नगरपालिका भित्रका ऐतिहासिक सम्पदाहरूको उल्लेख गरे । देशका विभिन्न स्थलबाट गर्न आएका ख्याति प्राप्त यात्रीहरूलाई स्वागत गर्दै उनले नगरभित्रको तत्कालीन वस्तु स्थिति अवलोकन गरी प्रचार प्रसार गरिदिन आह्वान गरे ।
नगरपालिकाको आयोजना र सूर्य चका फाउन्डेसन र रामेछाप नगरपालिकाको समन्वयमा भइरहेको सम्पदा पद यात्रा सफल पार्न पुगेका मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रामेछाप नगरपालिकाले थालेको यो पद यात्रा अन्य पालिकाले पनि सिक्नु पर्नेमा जोड् दिए । उनले भने ‘यो नगरपालिकाले थालेको पद यात्रा जिल्लाका अन्य पालिकाहरूले पनि सिक्दै पर्यटन प्रवर्द्धन गर्न लागौँ ।’
९ वटा वडा रहेको यो नगरपालिकामा भिमसेनथान ल्याङ्ल्याङ्, पार्टी डाँडा, डुकुरसिङ डाँडा, तिल्केथान गढी (१७३४ मिटर), केवलेश्वर मन्दिर (१४३९ मिटर), तुलेश्वर महादेव मन्दिर, धारा पानी, श्रीकृष्ण मन्दिर, शहीद गंगालाल तथा नेता पुष्पलाल जन्मस्थान, भँगेरी, झगडे चउर, ओम्घसिद्ध बुद्ध मूर्ति, माने डाँडा, निमाधावा बौद्ध गुम्बा, ऐतिहासिक पुरानो सदरमुकाम, रामेछाप बजार (१३५७ मिटर), श्री कालिका निशान भगवती मन्दिर, सैनिक स्मृति पार्क, सिलखावा भन्ज्याङ, पशुपतिनाथ मन्दिर, ताराखसे पोखरी, मिठे भन्ज्याङ, भ्यू टावर, थानी डाँडा (२१०० मिटर), जुनघाम चौतारा, लामासाँडाँडा, जुनार बगैँचा, ओख्रेनी, तासी छोरिङ गुम्बा, भालुखोप बजार सहितका स्थानमा पद यात्रा गरिने योजना बनाइएको कार्यक्रमका संयोजक एवं वडा नं ८, का वडा अध्यक्ष सन्तोष तामाङले जानकारी गराए ।
आइतबार विधिवत् समापन गर्ने तयारी रहेको कार्यक्रममा देशका ख्याति प्राप्त पैदल यात्रीहरू सहभागी छन् । राष्ट्रिय झण्डासहित विभिन्न टोलीमा बाँडिएर हिँडिरहेका पद यात्रीको पहिलो दिन धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मनोरञ्जन मार्फत यात्रालाई थप रौनक थप्दै गएका छन् । पद यात्रा शुभारम्भमा करिब १०० जना भन्दा बढीको उपस्थिति देखिएको छ ।
