रामेछापमा चल्ने यात्रु वाहक सवारीमा आजदेखि नयाँ भाडादर, मन्थली बजारको एकतर्फी पार्किङ बन्द, अब यी ठाउँमा पार्किङ ?

| साउन १, २०८० सोमबार

मन्थली बजार, फाइल ।
A A A
A A A

०१ साउन, रामेछाप । जिल्ला सदरमुकाम रहेको मन्थली बजारमा आजदेखि सडकको एकतर्फी पार्किङ गर्न नपाइने भएको छ । यस अगाडि बिच बजारको सडकमा एक तर्फ मोटरसाइकल पार्किङ गरिँदै आइएको थियो । अब त्यो हट्ने भएको छ । 

 

आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सरोकारवालाहरूको बैठकले एक तर्फ पार्किङ हटाउने निर्णय गरेको हो । बैठकले मन्थली बजारको मूल सडकमा पार्किङ गर्दै आएको आज (साउन १ गते) देखि पार्किङ गर्न नपाइने निर्णय गरेको प्रशासनले जारी गरेको निर्णयमा उल्लेख छ । 

अब पार्किङको लागि नयाँ व्यवस्था लागू गरिएको छ । जसअनुसार अब विभिन्न शाखा सडकमा पार्किङ गरिने छ । जारी निर्णयमा भनिएको छ ‘मोटरसाइकल अब उप्रान्त चिरञ्जीवी डेरी हुँदै तामाकोशी अस्पताल जाने सडक किनारामा, रेडक्रस हुँदै जिल्ला प्रहरी कार्यालय जाने सडकको किनारामा र जिल्ला समन्वय समिति (हाल मन्थली न.पा. १ नं. वडा कार्यालय) को भवन भन्दा अगाडिको स्थानमा पार्किङको व्यवस्था गर्ने’ भनिएको छ । 

 

त्यस्तै सोमबारदेखि यहाँ चार पाङ्ग्रे सवारी साधनको हकमा पनि कृषि ज्ञान केन्द्र अगाडीको सडक अवरुद्ध नहुने गरी एकतर्फी किनारामा पार्किङ गर्नु पर्ने निर्णय गरिएको छ । मुख्य बजार क्षेत्रको एक तर्फ सडकमा पार्किङ गर्दा सवारी आवत–जावात र मानिसको भिडभाडमा दुर्घटनाको जोखिम भएको हुँदा यसलाई परिवर्तन गर्न प्रशासनलाई दबाब परेको थियो । 

 

बस पार्क क्षेत्रमा भन्दा देवकोटा चोक आसपासमा मानिसको भिडभाड र गाडीको चाप बढी हुने हुँदा यसलाई व्यवस्थापन गर्न चुनौती बन्दै गएको छ । साँघुरो सडक विस्तारको लागि जग्गा समेत नहुँदा दीर्घकालीन रूपमा यहाँको सडकले सवारीको चाप र मानिसको भिड थेग्न निकै मुस्किल पर्दै गएको स्थानीयहरूको भनाई छ । 

 

यसैबिच आइतबारको सरोकारवालाहरूको बैठकले सोमबारदेखि लागू हुने गरी जिल्लाभरि चल्ने सवारीको भाडादर निर्धारण गरेको छ । त्यस्तै बैठकले मनलाग्दी भाडा असूल्दै आएको साना सवारी (अटो) को पनि भाडादर कायम गरेको छ । मन्थलीमा चल्ने अटोको भाडादर निर्धारण गर्दै अब यात्रुले बढीमा २ सयसम्म मात्रै भाडा तिरे पुग्ने सहुलियत पूर्ण भाडा निर्धारण गरिएको छ । भने जिल्लाभित्र चल्ने यात्रु वाहक सवारीको लागि अस्थायी रुटहरू पनि निर्धारण गरेको छ । 

यात्रु बाहक सवारीको लागि अस्थायी रुटहरु

मन्थली–रामेछाप–सालु-बाँकीमेरी-चण्डीडाँडासम्म ।

मन्थली-सुनारपानी हुँदै- सालु देउराली-साँघुटारसम्म ।

मन्थली-पकरबास-गाल्वा-मानपुर हुँदै-दोरम्बा शैलुङ्ग गा.पा. केन्द्र टोकरपुरसम्म ।

मन्थली-चिसापानी हुँदै-पुरानागाउ कौछिनीसम्म ।

मन्थली मा.वि. हुँदै- कठजोर-धोवीसम्म ।

मन्थली-खिम्ती-फर्पू-नामाडी बेताली हुँदै गर्जाङ चुचुरे-बाम्तीसम्म ।

मन्थली-नामाडी-बेताली-ठोसे-तामेडाँडा हुँदै-बम्तीभण्डार

मन्थली-हलेदे-तिल्पुङ हुँदै धोवी-कोटगाउँ-ढाँडेसिरिसेसम्म ।

मन्थली-हलेदे-तिल्पुङ-धोवी-सैपु दिलौरीडाँडा हुँदै ढाँडे सिरिसेसम्म ।

सोमबारदेखि लागू हुने जिल्ला भित्रको सवारी भाडादर कहाँ जान कति लाग्छ हेर्नुहोस् ।